अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नं २ अर्थात मन्त्रीहरुको प्रदेश

प्रदेश नं २ अर्थात मन्त्रीहरुको प्रदेश


जनकपुर– राज्यसत्तामा आफ्नो पहुँच भएन भनेर सधैं दुखेसो गर्ने प्रदेश नं २ का नेताहरु यस पटक दुई उपप्रधानमन्त्री सहित ठूलो संख्यामा सिंहदरबार छिरेका छन् । सरकारमा मधेसीहरु उपस्थिति भएको यो दोस्रोपटक हो । यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि मधेसी मन्त्रीहरुको उपस्थिति सरकारमा बलियो थियो ।

शुक्रबार पुनर्गठन भएको मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको रुपमा धनुषाका रघुबीर महासेठ र राजेन्द्र महतो सहित १२ जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

मधेसप्रति अनुदार, मधेसका माग सुन्नै नचाहने, मधेसी नेतालाई मन्त्रिपरिषदमा ल्याउनै नचाहने भनेर प्रचार गरिएका प्रधानमन्त्रीले मधेसलाई कामले जवाफ दिनुभएको छ । ‘मधेसीहरु दुई उपप्रधानमन्त्री सहित एकै एक पटक यती धेरै जना मन्त्री भएको यो पहिलो पटक हो,’ जनता समाजवादी पार्टी (जसपा)का नेता सत्यनारायण मण्डल भन्नुहुन्छ ‘यो दृष्यले प्रधानमन्त्रीजीप्रति मधेसमा रहेको नकारात्मक धारणा पनि बदलिन्छ । मन्त्रीहरुले अब प्रदेश नं २ का सामाजिक र विकासका समस्या समाधानको पहल गर्न पनि बाटो खुलेको छ ।’

जसपाको महन्थ ठाकुर समुह ओली सरकारमा सहभागी भएपछि मन्त्रिपरिषदमा मधेसी अनुहारको बाहुल्यता बढेको हो । जसपाले सरकारमा पठाएका १० जना मध्ये नौ जना प्रदेश नं २ का मधेसी अनुहार छन् ।

यसैगरी एमालेबाट पनि रघुबीर महासेठ उपप्रधान सहित परराष्ट्र मन्त्री भएपछि १२ जना मधेसी अनुहार छन् । एमालेबाटै कानुन मन्त्रीमा निरन्तरता पाउनुभएका लिलानाथ श्रेष्ठ पनि प्रदेश नं २ को सिराहाका हुनुहुन्छ । ‘एउटै प्रदेशबाट दुई उपप्रधान सहित यति ठूलो संख्यामा मन्त्री भएको पहिलो पटक पनि हो,’ मण्डल भन्नुहुन्छ ‘धनुषाबाट त दुई उपप्रधानमन्त्री सहित चार जना मन्त्री हुनुहुन्छ ।’

अब मधेसी जनताले मधेसी नेताको परीक्षा लिने धेरैको भनाइ छ । ओली सरकारमा गतबर्षसम्म तत्कालिन संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित केही मन्त्रीहरु लिएर सरकारमा बसेपनि त्यसको अनुभुत मधेसीले गर्न नपाएको गुनासो छ । तर यस पटकका मन्त्रीहरुलाई त्यो छुट नभएको मधेसीहरु बताउछन् । ‘उहाँहरु पहिला जस्तै जनताप्रति अनुतरदायी,आफन्त र बिचौलियाको चंगुलमा पर्नुभयो भने निकटको चुनावमा मधेसीले त्यसको जवाफ पर्काउने छन्,’ एक विश्लेषक भन्छन् ‘त्यसैले यस पटकको सत्तारोहण विगतमा आफूले उठाएका मागको सम्बोधन र मधेसी नेताहरुले आफ्नो पहिचान बदल्ने उपयुक्त अवसर पनि हो ।’

अब प्रदेश नं २ का आठवटै जिल्लाबाट मन्त्रीहरु सरकारमा सहभागी हुने मौका पाएका छन् । जिल्लागत रुपमा मन्त्रीहरुको अवस्था हेर्दा धनुषाबाट चारजना छन् । जसमा राजेन्द्र महतो, रघुबीर महासेठ, उमाशंकर अरगरिया, पर्साबाट लक्ष्मणलाल कर्ण र विमल श्रीवास्तव, महोत्तरीबाट शरतसिंह भण्डारी, रौतहटबाट अनिल झा, सर्लाहीबाट चन्दा चौधरी, सप्तरीबाट चन्द्रकान्त चौधरी, सिरहाबाट लिलानाथ श्रेष्ठ, बाराबाट एकवाल मियाँ हुनुहुन्छ । अब प्रदेश नं २ का सबै जिल्लाबाट संघीय सरकारमा मन्त्रीको प्रतिनिधित्व भएको छ ।

स्रोतका अनुसार अब बाँकी रहेका केही मन्त्रालयमा पनि प्रदेश नं २ बाट केही मन्त्रीहरु थपिने सम्भावना छ ।