अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयको आग्रह : तोकेभन्दा बढी शुल्क लिने अस्पतालविरुद्ध उजुरी गर्नुहोला

स्वास्थ्य मन्त्रालयको आग्रह : तोकेभन्दा बढी शुल्क लिने अस्पतालविरुद्ध उजुरी गर्नुहोला


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताउनुभयो । उहाँले उजुरीको आधारमा त्यस्ता स्वास्थ्य संस्थालाई नियमानुसार कारवाही गरिने बताउनुभयो ।

सरकारले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई तीन हजार ५ सय प्रतिदिन, मध्यमबिरामीका लागि सात हजार रुपैयाँ प्रतिदिन र गम्भिर प्रकृतिका बिरामीलाई १५ हजार रुपैयाँ प्रतिदिन तोकेको छ ।

उक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा सङ्क्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ ।

सरकारले सबै सरकारी अस्पताल र मन्त्रालयले सार्वजनिक गरेको सूचिअनुसार सेवा सम्झौता गरेका नीजि अस्पतालमा सङ्क्रमितको भने निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ ।

यसैगरी, स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयले सरकारले तोकेको शुल्कअनुसार सङ्क्रमितको उपचार भए वा नभएकोबारे लिएका अनुगमन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले सरकारले तोकेभन्दा बढी लिने अस्पताललाई कारवाही गर्न उद्योग मन्त्रालयले अनुरोध गरिएको जानकारी दिनुभयो ।