अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलको पाँच घण्टा बैठक, के-के विषयमा भयो छलफल ?

एमाले कार्यदलको पाँच घण्टा बैठक, के-के विषयमा भयो छलफल ?


काठमाडौं– नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक मंगलबार पाँच घण्टासम्म भएको छ । साँझ पाँच बजे देखि भएको बैठक राति १० बजेसम्म भएको सहभागी नेताहरुले जनाएका छन् ।

प्रधानमन्त्रीले जेठ २, २०७५ मा पार्टीलाई फर्काउने प्रतिबद्धता गरे पनि माधव नेपाल पक्षले विवाद समाधान भन्दा विभाजनलाई जोड दिएको संस्थापन पक्षका नेताहरुको भनाइ छ । ‘हिजो कतिपय नयाँ र कतिपय पुरानै बिषयमा छलफल भए । हामी निरन्तर विवाद समाधानका लागि लागेकै छौं,’ संस्थापन पक्षको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘छलफलमा उठेका बिषयले आकार लिएपछि बाहिर आउँछन् ।’

कार्यदलका अनौपचारिक बैठकहरु घण्टौं लामा हुने गरेका छन् । दुई हप्ता अघि याक एण्ड यतिमा भएको छलफल पनि पाँच घण्टा भएको थियो । मंगलबार पनि पाँचै घण्टा छलफल भयो । यति लामा लामा छलफलमा के कुरा हुन्छ त ? सहभागी एक नेताका अनुसार पार्टीको विगत, भूमिगतकालका सम्झना, सरकार र मन्त्री हुँदा आफूले गरेका राम्रा कामको चर्चा पनि हुन्छन् । त्यसपछि फेरि पार्टीको मुल विवादमा फर्केर छलफल हुने गरेको छ ।

‘मंगलबार चाहिँ एउटा भीमलाई विस्थापन गर्दै अर्को भीम आउनुभयो । उहाँ यस अघिका छलफलमा सहभागी नभएकोले उहाँलाई अहिलेसम्मको प्रगति बुझाउन केही समय लाग्यो,’ सहभागी एक नेताले भन्नुभयो ‘छलफल सामूहिक मात्र होइन त्यहाँ एक्ला एक्लै र दुई दुई जनाबीच पनि हुने गरेको छ ।’ भीम रावलले नेतृत्व गर्नुभएको कार्यदल भंगप्रायः भएकाबेला भीम आचार्य वार्तामा बस्नुभएको छ ।

छलफलमा संस्थापनबाट नेता नेम्वाङले तपाईंहरुका माग पूरा भइसके भनेर अडान लिइरहनु भयो भने घनश्याम भूसालले प्रधानमन्त्रीको आह्वानमा प्रयोग भएको भाषा काइते छ भनेर तर्क गरिरहनुभयो । ‘हामी एकताका लागि लागि रहने, दुवै पक्षका एकथरी नेताहरु एकता नहोस भनेर लागिरहने’ सहभागी एक नेताले भन्नुभयो ‘पार्टीका नेताहरुको यो मनोदशा देखेर दिग्दार लागेको छ ।’

सारमा मंगलबार भएको बैठकमा संस्थापनले प्रधानमन्त्रीको आह्वानमा सहमत भएर पार्टीलाई मजबुद बनाएर लैजानु पर्ने र सर्वोच्चमा प्रधानमन्त्रीका विरुद्ध बुझाएको हस्ताक्षर फिर्ता गर्नु पर्ने अडान लिइरह्यो । माधव पक्षले भने प्रधानमन्त्रीको आह्वानमा काइते भाषा प्रयोग भएको त्यसलाई सच्याउनु पर्ने, पार्टीको बैठकले माधव नेपाल लगायतलाई गरेको कारबाही निःशर्त फिर्ता गर्नुपर्ने बिषयकै आसपासमा छलफल चलेको छ ।

समानान्तर कमिटीलाई व्यवस्थापन गर्ने बिषयमा पनि व्यापक छलफल भएको नेताहरुले जनाएका छन् । त्यसमा जेठ २ गते भएका जिल्ला अध्यक्षलाई संयोजक मानेर जुन पक्षले बनाएको समानान्तर कमिटी भए पनि त्यसका अध्यक्षलाई सहसंयोजक मान्ने विषयमा दुवै तर्फका नेता सहमति नजिक पुगेका छन् । जनवर्गीय संगठनका हकमा पनि यही कुरा लागु हुने विधि बनाइएको छ ।

वार्तामा संस्थापन पक्षका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा माधव नेपाल पक्षबाट भीम आचार्य, गोकर्ण विष्ट, घनश्याम भूसाल र सुरेन्द्र पाण्डे सहभागी हुनुभएको थियो ।

बुधबार पनि नेताहरु सम्पर्क मै रहने आवश्यक परे फेरि बसेर छलफल गर्ने तय भएको छ ।