अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिंदै

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिंदै


पोखरा– गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिंदै हुनुहुन्छ ।

मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।

जनमोर्चाले सांसदबाट कारबाही गरेका कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेसँगै थापाले मुख्यमन्त्रीको पक्षमा समर्थन गर्ने बताइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ ।

यसअघि मुख्यमन्त्रीको पक्षमा रहेर मन्त्री समेत बनिसकेका स्वतन्त्र सांसद दीपक मनाङेले बुधबार विपक्षी गठबन्धनलाई साथ दिने प्रष्ट संकेत गरेसँगै मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ ।