मेरो माध्यमिक तहसम्मको शिक्षा ताप्लेजुङ जिल्लाको हाङपाङ स्थित श्री सरस्वती माध्यमिक विद्यालयबाट पूरा भएको हो । मैले वि.सं. २०४० सालमा एस.एल.सी. परीक्षा दिएको हुँ । यसर्थ मेरो स्कूले जीवनको शुरुवात वि.सं. २०३० बाट भएको हो । त्यो १० वर्षे अवधिमा धेरै साथीभाइहरु सँग संगत भयो । अहिले त खोई कताकता छरिए होलान् ? कतिजनाको त नाम पनि बिर्सिसकिएछ । नबिर्सनु पनि कसरी ? करीब ५० वर्ष अघिका कुराहरु ।
मेरा शिशु कक्षादेखिका साथीभाइहरुमा सुमित्रा प्रसाईं, कल्पना प्रसाईं, कमल फेयङ, ठेकमान प्रधान, नरकुमारी आङबुहाङ, युवराज आङबुहाङ, राजबहादुर आङबुहाङ, केशव (कमल) प्रसाई, काशीनाथ प्रसाईं, लीला फेयङ, गौरा प्रसाईं, भीम याक्सो, देबेन्द्र याक्सो, कृष्णकुमारी प्रसाईं, कालीबहादुर साँवा, वलबहादुर याक्सो, दिलबहादुर याक्सो, अमृत याक्सो लगायतका थिए । अरु सम्झन सकिन ।
गौरा प्रसाईले “मै छोरी सुन्दरी कसरी भरौं पानी“ बोलको गीतमा नाचेको अहिले पनि बारम्बार याद आउँछ । मान्छे पनि सानीसानी थिईन । अहिले पनि बेलाबेलामा जिस्क्याईदिन्छु । सुमित्रा पनि राम्रो नाच्ने नि । त्यो बेला हाङपाङ स्कूल अहिले रहेको ठाउँभन्दा अलिक तल थियो । भित्तापट्टि तेर्साे लामो भवन थियो भने पूर्वपट्टि ठाडो अर्को भवन थियो । ठाडो भवनमा प्राथमिक तहको पढाइ हुन्थ्यो अनि तेर्सा भवनमा माध्यमिक तहको । अहिले पनि ठाडो भवन अलिक परिमार्जित रुपमा यथावत उभिईरहेको छ । तेर्सो ठूलो भवन भने २०४५ सालको भूकम्पमा भत्कियो ।
प्राथमिक तहमा अध्ययन गर्दाका क्षणहरु त्यति धेरै याद छैनन् । केवल राना सरले कन्सिरी तानेर गाला चड्काएको, नरमान मोक्तान सरले मोटा औंलाले कानमा हिर्काएको, शिवकुमार सरले शारीरिक खेलाउनु भएको याद छ अहिले पनि । शिशु कक्षामा एकपटक फेल भएर रुदैं घर गएको याद छ मलाई । त्यसपछि भने फेल हुने अवसर जुरेन । कक्षा १ देखि नै नरकुमारी दिदी कक्षामा पहिलो हुने । हामी भन्दा अलिक ठूली पनि थिईन दिदी । ४÷५ कक्षामा पुगेपछि पुरानो मोजामा टालाटुली हालेर बनाएको गोल, गुच्चा, डण्डिवियो खेलेको सम्झँदा पनि ती दिन फर्केर आए हुन्थ्यो नि जस्तो लाग्छ । डण्डीवियो खेल्ने ठाउँ चाहिँ तल्लो ‘गिरान’ थियो । ठूलो ‘गिरान’ को डिलमा एउटा अमलाको रुख थियो । त्यसमा फलेका अमलाहरु कहिल्यै छिप्पिन पाएनन् । मास्तिर हजारसिंको बारीको छेउमा एउटा बाङ्गेकाठको रुख थियो । सिजनमा त्यसको पनि राम्रै उपभोग गरियो । स्कूलको छेउमा ठूलो बरको रुख थियो । पाकेका बर खाएर मुखै रातो बनाईन्थ्यो । तिनधारेको ओखरको रुखमा पनि निकै ढुंगा बर्साईयो ।
जीन्दगीका करिब ४० जती बर्ष सबै आफ्नो आफ्नो जीन्दगीको भूमरीमा हरायौं । मलाइ लाग्छ उमेर ढल्दै गएपछि हामीलाई फेरी जोड्न प्रविधि आइपुग्यो । फेसबुक नामको यो अनौठो प्रविधिले हामी ५० बर्षपछि फेरी भेट भएका छौं । हामीले फेसबुक नामको सामाजिक सञ्जाल चलाउन थालेको त्यही १०÷१२ बर्ष भयो होला ।
कक्षा ३ पास गरेपछि अरु स्कूलबाट नयाँ साथीभाइहरु पनि आउन थाले हाइस्कूलमा । तल मिचिरिङतिरबाट लक्ष्मी प्रसाईं, पूण्य चुडाल, ओम उप्रेती, महेश्वर राना, लोकबहादुर थापा, तीर्थ खपाङ्गी लगायतकाहरु, माथि चुवाँपारीबाट मीना ओली, चन्द्र प्रसाईं, नारायण प्रसाईं, मेदनी फोम्बो, पवित्रा फेयङ, ढुंगेबाट हर्कबहादुर निरौला, फूलवारीको रमितेबाट कमलमणि निरौला, जयप्रकाश निरौला, नीलमणि निरौला लगायतका साथीहरु थपिन आईपुगे । त्यो बेलामा अधिकांश स्कूलहरु प्राथमिक तह सम्मका मात्र भएकोले त्यो भन्दा माथिको शिक्षा लिन सरस्वती मा.वि. नै आउने गर्थे ।
अब साथीभाइहरुको दायरा अलिक फराकिलो भयो । पढाईको बोझ पनि केही थपियो । विषयहरु थपिदै गए । टिफिनको समयमा प्राथमिक तहदेखि नै खेलिरहेका खेलहरु निरन्तर नै थिए । डण्डीवियो र गुच्चा खूबै खेलियो ।
स्कूलमा खानेपानीको व्यवस्था थिएन । तिनधारे पुग्नु पथ्र्यो पानी खानलाई । कक्षाकोठा विद्यार्थी आफैले लिप्नु पर्ने, कालोपाटी मस्याउनु पर्ने, कुचो, डस्टर बनाएर ल्याउनु पर्ने, हरेक दिन विहान कक्षाकोठा बढार्नु पर्ने चलन थियो । ती सबै कामको बाँडफाँड गरिएको हुन्थ्यो । साप्ताहिक रुटिन बनाएर ढोकाको पछाडिपट्टि वा भित्तामा किला ठोकेर झुण्ड्याईको हुन्थ्यो । कक्षा मनिटरको व्यवस्था हुन्थ्यो । सरहरु नभएको समयमा मनिटरको अनुमति लिएर मात्र बाहिर जान वा भित्र आउन पाईने । कक्षाकोठा लिप्ने दिन गोबर, माटो, पानी ल्याउने कामको बाँडफाँड हुन्थ्यो । गाउँमा गोबर चोर्न जानु पर्ने । कहिलेकाहि त कुटाई खाईने डर पनि पो हुने त । दशैंमा स्कुल सिंगार्न पर खुवाखोला सम्म कमेरो लिन गईन्थ्यो । स्कूल नजिकै घर भएका विद्यार्थीहरुले कमेरो मुछ्ने भाँडाहरु ल्याउनु पर्ने । कसैले कुचो, कसैले पुराना बेट्री ( झ्याल ढोकामा लगाउन) ल्याउनु पर्ने । गज्जबको समय थियो । अहिलेका विद्यार्थीका लागि एकादेशको कथा जस्तो ।
कक्षा १ देखि ५ सम्मको वार्षिक परीक्षामा निरन्तर पहिलो हुने नरकुमारी दिदिलाई उछिनेर कक्षा ६ को वार्षिक परीक्षामा त म पो पहिलो भएको थिएँ । आफूलाई निक्कै जान्ने रहेछु जस्तो लाग्यो । फेरि कक्षा ७ बाट ८ मा जाँदा भने ठेकमान पहिलो हुन पुगे । पढाईमा हाम्रो निकै राम्रो प्रतिष्पर्धा हुँदोरहेछ नि । कक्षा ७ मा पढ्दा होला सायद अंग्रेजी विषयको गृहकार्यमा एउटा प्रश्नको जवाफ मलाई आएन । स्कूलमा गएर कमल फेयङकोबाट उक्त प्रश्नको उत्तर सारें । गृहकार्य जाँच्दै गर्दा खड्ग पाण्डे सरले मैले कमलको बाट सारेको एउटा शब्दको अर्थ सोध्नुभयो । मैले भन्न सकिन । गाईड सारेर ल्याईस भनेर खड्ग सरले एक झापड हानेको अहिले पनि बिर्सेको छैन । पछि बुझ्दा त कमलले त गाईड सारेर ल्याएको रहेछ । त्यसपछि भने मैले गाईडको नाम पनि उच्चारण गरिन ।
हेडसर गणेश राईको प्रशासन कडा थियो । तेर्साे भवनको सबैभन्दा पश्चिमपट्टिको कोठामा अफिस थियो । हो त्यही कोठामा बस्नुहुन्थ्यो हेडसर । देब्रेहातको चोर औलाले नाकमाथिको चस्मा माथितिर धकेल्दै अफिस कोठाबाट हेडसर निस्केपछि सबैको सातो जाने नि । कक्षा ८ मा हामीलाई पञ्चायत विषय पढाउनु हुन्थ्यो । विद्यार्थीलाई गाली गर्दा “वेकूफ“ भन्ने गर्नुहुन्थो । विहान प्रार्थना लाईनमा चन्द्र ओली सरले पि.टी. खेलाएको पनि सम्झिरहन्छु । गोविन्द गुरु, उद्धव सरले संस्कृत पढाएको याद छ । स्कूलको ग्राउण्डमा कहिलेकाहि अलिक ठूला व्यक्तिहरुको बीचमा फूटबल खेल हुन्थ्यो । हेडसर आफै पनि राम्रो फूटबल खेलाडी । भक्ति ओली, मानबहादुर आङबुहाङ लगायतका खेलाडीहरु सम्मिलित खेल हुन्थ्यो । भक्ति ओलीले ग्राउण्डको पश्चिमी छेउबाट हानेको गोल स्कूलको ठाडो भवन कटेर तल मकर बहादुरको घर (देवीथान घर) सम्म पुग्थ्यो । कति बलिया मान्छे रछन जस्तो लाग्थ्यो । पछि बुझ्दै जाँदा त ग्राउण्डको लम्बाई नै छोटो रहेछ अनि किन नहानुन् त ? स्कुल मुनि एकजना साईली बोजुको घर थियो । भलिबल, फूटबल उफ्रिएर बेलाबेला उनको बारीमा पुग्थ्यो । कतिवटा बल त उनले आफ्नो घरभित्र लुकाएर पनि राख्थिन भने कतिवटा त हसिंयाले ठुंगेर फुटाईदिएको याद छ । नफुटाउन पनि कसरी ? बल लिन भनेर एक हुल विद्यार्थी जान्थे । लगाएको बालीको सत्यानास । कहिलेकाहिँ कसैकसैले त बोजुको हँसियाको झटारो पनि पो भेटेका थिए ।
स्कूलको वार्षिकोत्सवको समयमा सांकृतिक कार्यक्रमको आयोजना हुन्थ्यो राति । ग्राउण्डको पूर्वपट्टिको छेउमा अलिक अग्लो पारेर मञ्च बनाईएको हुन्थ्यो । मञ्चको अघिल्लो भागको चिलाउनेको रुखमा राखिएको हुन्थ्यो । गेट र मञ्च सजाउनका लागि कोही विद्यार्थीहरु सुनथाङ्ने लिन ठूलीटार माथिको जंगलतिर जान्थे । सुनथाङ्ने डल्लो बनाएर बाटैबाटो लडाउँदै ल्याएको झल्झली याद आउँछ । अलिक ठूलो कक्षाका विद्यार्थीहरु बाँस लिन जाने, कोही मञ्च बनाउने काममा लाग्थे । नाच हेर्न वेलुका छिट्टै खाना खाएर गाउँका मानिसहरु राँको बालेर आउँथे । नृत्य, हाँस्य, नाटक प्रस्तुत हुन्थे । वेनुसरको हार्माेनियम बजाउने, हास्य प्रस्तुत गर्ने कला गज्जबको थियो । मञ्चको अगाडिको पर्दा खोल्न बन्द गर्नका लागि १÷२ जना अलिक अग्ला विद्यार्थी खटिन्थे । कलाकार मञ्चमा आउने बेलामा र प्रस्तुति सकिएपछि पछाडिबाट सिटी बज्थ्यो । सिटी बजेपछि पर्दा खोल्ने बन्द गर्ने कार्य हुन्थ्यो । क्या मज्जा आउँथ्यो ।
सिजन अनुसार साथीहरुले आफ्नोमा भएका अम्बा, आँप, सुन्तला, काठेबर, आरु, पोलेका हरिया मकै ल्याउँथे । काँचा आँप र गिट्ठा अम्बा पनि मज्जाले चपाईन्थ्यो । हर्क निरौलाले भदौ असोजतिर पोलेर ल्याएका लेकका हरिया मकैको स्वाद अहिले पनि जिब्रोमा झुण्डिएकै छ । सानो कक्षामा हुँदा ती खानेकुरा कापीको पानासँग साटासाट पनि पो हुन्थ्यो त ।
कक्षा ८ मा पुगेपछि अझ धेरै साथीहरु थपिए । पारी चाँगेबाट हस्त आङबुहाङ, लोकनाथ प्रसाईं, ज्ञाननाथ खतिवडा, दिपेन्द्र आङबुहाङ, नरेन्द्र आङबुहाङ, चित्रा आङबुहाङ, तारा चुडाल, कृष्ण प्रसाईं, चेतनाथ निरौला, लक्ष्मी निरौला, टेक बहादुर श्रेङ, भगत नेपाली, लीला नेपाली, तीर्थ राई, कमला भट्टराई, चैतन्य गौतम, अम्विका गौतम, भीमकुमारी आङबुहाङ, कर्ण आङबुहाङ, कुबेर दाहाल, भगत श्रेष्ठ, कल्पना श्रेष्ठ लगायतका साथीहरु थपिए भने उता फूलवारी जुकेटारबाट शारदा प्रसाईं, चन्द्रकला प्रसाईं, लक्ष्मी प्रसाईं, मेवाखोलातिरबाट शैलेन्द्र नाल्बो, बल बहादुर नाल्बो, ह्वाकूबाट रोहित डाँगी लगायतका साथीहरु थपिए । अब साथीहरुको संख्या अझै बढ्दै गयो । पुराना केही साथीहरुले छोड्दै पनि थिए । नयाँ साथीहरुसँगको नयाँ अनुभव सहित पढाइ अघि बढ्दै गयो । प्रतिष्पर्धा पनि बढ्दै गयो । राम्रो अध्ययन गर्नुपर्छ भन्ने सोच बढ्दै गयो । चाँगेतिरका साथीहरु डेढ दुई घण्टाको बाटो धाएर पढ्न आउँथे । विहान स्कूल आउँदा सोबुवा खोलामा एकपटक पौडी खेलेरै मात्र आउँथे । स्कूलबाट घर फर्कदा तल बान्द्रेथुम्कीतिर हल्ला गर्दै झर्थे ।
पुराना खेलहरु पनि छोड्दै गईयो । भलिबल खेलतिर रुचि बढ्न थाल्यो । हस्त, दिपेन्द्र, तीर्थ, चेतनाथ, लक्ष्मी पनि राम्रै भलिबल खेल्थे । हस्तलाई चाहिँ मैले नै लिफ्ट गरिदिनु पर्ने । चाँगेबाट कर्ण आङबुहाङ पहिलो स्थान ल्याएर आएका थिए । तारा चुडालको पनि पढाइ राम्रो थियो । उता जुकेटारबाट आएकी शारदा प्रसाईं पनि अब्बल नै थिईन । प्रतिष्पर्धा राम्रै हुन्थ्यो । कक्षा ८ को वार्षिक परीक्षामा भने कर्ण आङबुहाङले सबैलाई पछि पारिहाले नि । चित्रा चाहिँ अलिक छुच्ची । रिस उठ्यो भने हान्दिने ।
मेरै छिमेकी एकजना दिदिलाई हस्तले मन पराउँदा रहेछन् अनि ती दिदिले पनि हस्तलाई । उनीहरुको पत्र आदानप्रदान गर्ने हुलाकीको काम चाहिँ मैले गरिदिनुपर्ने । पछि दिदिको विवाह अर्कै केटासँग भयो तर त्यो सम्बन्ध लामो टिकेन । दिदी र हस्तको प्रेम स्वच्छ नै रहेछ । पछि उनीहरुको सम्बन्ध गाँसियो । धेरै समय चाँगेमा नै बसेर अहिले ईटहरितिर बसोबास गर्दैछन् ।
कक्षा ९ मा पुगेपछि अझ अरु साथीहरु थपिए । फूलबारीबाट सोम पाठक, कृष्ण सिटौला, ह्वाकुबाट नेत्र पौडेल, झापाका केशव सुवेदी आदि । त्यो बेला हामी ८÷१० जना विद्यार्थीहरुको यति प्रतिष्पर्धा थियो कि सरहरुलाई पनि रिजल्ट भन्दा अघि कस्ले बाजि मार्छ भन्ने अनुमान गर्न गाह्रो थियो । तीर्थ राई अलिक छुल्याहा खालको थियो । पढ्न खासै ध्यान नदिने तर भलिबल राम्रो खेल्ने । यसै बीचमा मेदनी फोम्बो लगायतका केही साथीहरु बेलायती आर्मीतिर पनि भर्ना भैसकेका थिए
। पहिलो छुट्टीमा आएको बेला उनले खिचिदिएको रंगीन फोटो अहिले पनि सुरक्षित छ मसँग जस्ले बेलाबेला उनै साथीको याद गराईरहन्छ ।
यसरी अघि बढिरहेको हाम्रो समूह कक्षा १० को सेन्ट अप हुँदै एस.एल.सी. सम्म पुग्यो । सेन्ट अपमा चाहिँ नेत्र पौडेलले बाजि मारे । कति साथी छुटे तर हामी जम्मा ५५ जना एस.एल.सी.मा सामेल भएका थियौं । २०४० सालभन्दा अगाडि हाम्रो विद्यालयको परीक्षा केन्द्र मुलपानी तेह्रथुम थियो । २०४० सालदेखि भने हाङपाङमा नै केन्द्र आयो र हामी सो केन्द्रमा परीक्षा दिने पहिलो ब्याच साथै ९०० पूर्णाङ्कको अन्तिम ब्याच पनि । परीक्षाको समयको एउटा घटना अहिले पनि याद छ । लोकनाथ प्रसाई, सोम पाठक, कृष्ण सिटौला अनि निघुरादिनका मेदनी प्रसाई हाम्रो घरमा डेरा बसेका थिए । हामीलाई सहयोग गर्न खेम सिटौला पनि । विज्ञान विषयको परीक्षाको अघिल्लो दिन वेलुका खाना खाएर हामी सबै बरण्डामा पढ्दै थियौं । कृष्ण चाहिँ म सुतें भनेर सुतेका थिए । एकछिनमा त शरीर बटार्दै हातखुट्टा पो फ्याँक्न थाले । बाँकी भएका हामी ४÷५ जनाले समाउँदा पनि उनलाई थाम्न सकेनौ । केहीछिनमा त कृष्ण त पलेटी मारेर नानाथरी बक्दै काम्न थाले । उनी काम्न थालेपछि मेदनी प्रसाईं पनि काम्न लागे आमनेसामने भएर । मैले बुबालाई बोलाएँ । बुबाले यसो फूल अक्षता कुलथानमा चढाईदिएपछि मेदनी काका साम्य भए तर कृष्ण त झन पो कडा भएर निस्के । बसेर काम्दै गरेको मान्छे अब त उठेर काम्न थाले । एकछिनमा काम्दै निस्केर अध्याँरोमा हराएको मान्छे आधा घण्टा जति पछि लखतरान भएर आईपुगे । अलिक माथिको धारामा पुगेर कपडा सहित नुहाएर पो आएछन् ।
त्यसदिनको पढाइ त्यतिकै सकियो । भोलीपल्ट परीक्षा दिन गईयो । कृष्ण त परीक्षा लेख्दिन म घर जान्छु भन्न थाले । सम्झाएर परीक्षा दिन लगाईयो । एस. एल. सी. परीक्षा सकियो । सबै आआफ्नो घरतिर लागे । पछि २०४१ श्रावणमा रिजल्ट आयो । ५५ जनामा ९ जना उतीर्ण भईयो । हस्त र युवराजको त परीक्षा रद्ध भएर पो आएछ । परीक्षाको समयमा एकजना निरीक्षकसँग उनीहरुको अलिअलि विवाद भएको थियो । सायद त्यही कारण होला । सबैभन्दा बढी अंक कमल फेयङले ल्याएका थिए ।
अब भने हामी सबैको लक्ष्य अनि गन्तव्य फरक हुन पुग्यो । बिस्तारै साथीहरु टाढा हुँदै गए । सम्पर्क हुन छोड्यो । अहिले कोही साथीहरु शिक्षण पेशामा संलग्न भए । कोही लाहुरे भएर बेलायततिर लागे । कोही अध्ययन गर्न कलेजतिर हानिए । कोही विभिन्न व्यवसायमा संलग्न भए । जीन्दगीको गोरेटोमा डोरिने क्रममा एसएलसीपछि कोही कहाँ पुगियो,कोही कहाँ । जीन्दगीका करिब ४० जती बर्ष सबै आफ्नो आफ्नो जीन्दगीको भूमरीमा हरायौं । मलाइ लाग्छ उमेर ढल्दै गएपछि हामीलाई फेरी जोड्न प्रविधि आइपुग्यो । फेसबुक नामको यो अनौठो प्रविधिले हामी ५० बर्षपछि फेरी भेट भएका छौं । हामीले फेसबुक नामको सामाजिक सञ्जाल चलाउन थालेको त्यही १०÷१२ बर्ष भयो होला । फरक के भने उ बेलाका भेट प्रत्यक्ष हुन्थे अहिलेका भेट भर्चुअल्ली हुन्छन् । उ बेला हामी सबै कलकलाउदो उमेरका थियौं अहिले हामी सबै डाँडो ताक्दै गरेको जुनको नियतीमा छौं ।
हाम्रा व्याची साथीहरु कोही ताप्लेजुङतिर, कोही विदेशतिर, कोही काठमाण्डौतिर, कोही तराईतिर बसोबास गरिरहेका छन् । आआफ्नो व्यवहारिक कार्यमा व्यस्त छन् । कोही हजूरबा हजूरआमा पनि भैसकेछन् । कोही साथीहरु (काशीनाथ प्रसाईं, नारायण प्रसाई, केशव सुवेदी, तीर्थ राई) भने वितिसके ।
(प्रसाईं,सरस्वती माविका पूर्व विद्यार्थी एवं सेवा निवृत शिक्षक हुनुहुन्छ )
प्रतिक्रिया