काठमाडौं- नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।
नेकपा एमालेका विभिन्न १५ वटा जनसंगठनहरूले सांसद वैद्यलाई गृहमन्त्री अधिकारीलाई कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र लिएर गृहमन्त्रालय पुगेका जनसंगठनका प्रतिनिधिले प्रदेश सांसद वैद्यले प्रधानमन्त्रीको ज्यान सुरक्षा माथि धावा बोलेकाले फौजदारी कसुरमा मुद्दा चलाई कारबाही गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताउनुभयो ।
कांग्रेसको तर्फबाट बागमती प्रदेशका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिनुभएको थियो ।
चौतर्फी आलोचनापछि सांसद वैद्यले आत्मालोचना गर्दै आज माफीसमेत मागिसक्नुभएको छ ।







प्रतिक्रिया