अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीबाट आएका नेता कार्यकर्तालाई एमालेमा जिम्मेवारी दिन कार्यदलमा छलफल हुँदै

माओवादीबाट आएका नेता कार्यकर्तालाई एमालेमा जिम्मेवारी दिन कार्यदलमा छलफल हुँदै


काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले माओवादीबाट एमाले आएको नेता कार्यकर्तालाई कार्यविधि बनाएर व्यवस्थापन गरिने बताउनुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश नं १ ले आज आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

सहभागीहरूले राखेको जिज्ञासामा पूर्वमन्त्री समेत रहनुभएका ज्ञवालीले कसैलाई भेदभाव नहुने गरी पार्टी कामको जिम्मा दिइने बताउनुभयो ।

‘माओवादीबाट आउनुभएका साथीहरूलाई कसरी र कुन जिम्मेवारी दिने भनेर कार्यदलले काम गरिरहको छ,’ ज्ञवालीले भन्नुभयो, ‘स्थानीय स्तरमा हिजो उहाँहरू जुन कमिटीमा हुनुहुन्थ्यो त्यसैअनुसारको जिम्मेवारी दिएर पार्टी काममा लगाउनु भए हुन्छ ।’

विवाद भएका कतिपय ठाउँहरूको निरुपण कार्यदलले गर्ने ज्ञवालीले स्पष्ट पार्नुभयो । कार्यदलमा दुवै पक्षका केही नेताहरूले गोप्य रूपमा गृहकार्य गरिरहेको एमाले स्रोतले जनाएको छ ।