अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनमा पहिरो जाँदा तामाकोसी थुनियो, कुनै पनि बेला बाढी आउन सक्ने

चीनमा पहिरो जाँदा तामाकोसी थुनियो, कुनै पनि बेला बाढी आउन सक्ने


काठमाडौं – नेपाल र चीनको सीमा क्षेत्रमा रहेको टिंगरी काउन्टीको रोङछिया शहर र सोको आसपासमा भारी वर्षाको कारण पहिरो गएको छ ।
पहिरोको कारण तामाकमोसी नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सोको कारणले कुनैपनि समयमा तामाकोसी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने प्रशासनले शुक्रबार राति सूचना जारी गरी जानकारी गराएको छ ।

नेपाल–चीन सीमा नजिकको बस्ती लगायत तामाकोसी नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क हुन प्रशासनले आग्रह गरेको छ । तामाकोसी तटीय क्षेत्रमा दोलखा र रामेछापका बस्ती पर्दछन् ।

स्थानीय प्रशासनले कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थान तर्फ जान र स्थानीयतहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ । प्रशासनले राति ९ः४५ बजे सो सूचना जारी गरेको हो ।

यसै बीच जिल्ला प्रहरी कार्यालय रामेछापले पनि राति ११ बजेपछि सूचना जारी गरी नेपाल चीन सीमा क्षेत्रमा भीषण पहिरो गएको र पहिरोले नदी थुनिन पुगेको सूचना प्राप्त भएको जनाएको छ । प्रहरीले कुनै पनि समयमा तामाकोसी नदीमा बाढी आउन सक्ने भएकोले नदी तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

नदी क्षेत्र आसपास बसोबास गर्ने सम्पूर्णलाई खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह गरेको छ । साथै स्थानीय तहका पदाधिकारीका तथा नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन समेत प्रहरीले अनुरोध गरेको छ ।