अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृष्ण मन्दिरबाट चोरिएका ११ मूर्तिसहित दुई जना पक्राउ

कृष्ण मन्दिरबाट चोरिएका ११ मूर्तिसहित दुई जना पक्राउ


काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनायाण शाह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो । प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई मूर्तिसहित गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिका-६ कपनबाट आज एक किलो अवैध लागूऔषध गाँजा सहित दूई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध गाँजा सेवन तथा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले प्लाष्टिकमा पोका पारी राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसैबीच, आज यहाँको तारकेश्वर नगरपालिका–१ साङ्ला छाप बस्ने धनकुटा नगरपालिका–१ घर भएका ३६ वर्षीय दीपक राई आफ्नै कोठाको बाटो खण्डमा मृत फेला परेका जनाइएको छ ।