अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० वर्षपछि सल्यान सरे राउटे

१० वर्षपछि सल्यान सरे राउटे


सल्यान- फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यानमा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो ।

गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका-५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरू पुनः सल्यानमा पुगेको बताउनुभयो ।

हाल ४६ घरधुरीमा गरी राउटेहरुको सङ्ख्या १४३ रहेको छ । आफनो समुदायका सदस्यको मृत्यु हुँदा बसाइँ सर्ने प्रचलन भएपनि राउटेहरु यसपटक गुर्भाकोट भेरी किनारमा गर्मी बढेपछि सल्यानतर्फ लागेको बताइएको छ । अछाम, दैलेख, सुर्खेतका विभिन्न जङ्गल क्षेत्र हुँदै उनीहरु सल्यान सरेका हुन् ।

गुर्भाकोट नगरपालिकामा रहँदा यही जेठ २१ गते दुई राउटे युवतीमाथि यौनजन्य हिंसाको घटना सार्वजनिक भएको थियो ।

प्रहरीले उक्त घटनामा संलग्न तीन युवालाई जबरजस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

पहाडी जङ्गलमा फिरन्ते जीवनशैली बिताउने राउटे समुदाय नेपालकै लोपोन्मुख आदिवासीमा पर्दछ । सरकारले यस जातिको सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु. तीन हजार प्रदान गर्दै आएको छ ।