अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार अनलाइन कालोसूचीमा, जनताटाइम्सदेखि सेतोपाटीसम्मलाई काउन्सिलले काट्यो पत्र

चार अनलाइन कालोसूचीमा, जनताटाइम्सदेखि सेतोपाटीसम्मलाई काउन्सिलले काट्यो पत्र


काठमाडौं– प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरेको विषयमा विभिन्न अनलाइनलाई लिखित पत्र काटेको छ । इहिमालयटाइम्स, वीरगञ्जसिटी, एनआरएनखबर र कोशीपाटीलाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ ।

काउन्सिलले विहीबार विज्ञप्ति जारी गर्दै नेपालआज डटकम, देशसञ्चार डटकम, सेतोपाटी, जनता टाइम्स, रिपोर्टसनेपाल, सफल खबर लगायत १३ वटा अनलाइन र सञ्चार विज्ञ भानुभक्त आचार्यलाई लिखित पत्र काटेको जनाएको छ । काउन्सिलले पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।

‘पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(२) मा ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्नेगरी समाचार सामग्री उत्पादन/प्रकाशन/प्रसारण र वितरण गर्न हुँदैन’ भन्ने व्यवस्था रहेको हुँदा यस्ता समाचार सम्प्रेषण गर्दा यी पक्षमा ध्यान पुर्‍याउन सम्बन्धित सम्पूर्ण पत्रकार तथा आमसञ्चारमाध्यमको ध्यानाकर्षण गराइन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यससम्बन्धमा सम्प्रेषित समाचार सामग्रीप्रति काउन्सिलले अनुगमन गरिरहेको समेत जानकारी गराउँदछौँ ।’