अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक

असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक


कर्णाली- कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक भएको बताउनुभएको छ ।
उर्जा मन्त्रालयका सचिव, योजना महाशाखा तथा दशवटै जिल्लाका कार्यालय प्रमुखसँगको आजको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासले कामको गुणस्तरमा प्रश्न चिन्ह खडा गर्ने जनाउनुभयो । तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न मन्त्रालयले कार्यान्वयनमुखी बजेट ल्याएको उहाँको दावी छ ।
“असार महिनाको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने विद्यमान संस्कृतिको अन्त्य गर्न सबै क्षेत्र लाग्नुपर्दछ”, उहाँले भन्नुभयो, “परम्परागत विकासशैलीको निरन्तरताले आजको व्यवस्था प्रणालीलाई पनि त गिज्याइरहेको छ नि ? सबैले इच्छाशक्ति देखाएर आ–आफ्नो दायित्व पुरा गरौं । हरेक योजनाहरु निर्धारित समयमै सम्पन्न हुन्छन् । असार कुर्नै पर्दैन ।”
आगामी आवको बजेट समयमै कार्यान्वयन गर्नेतर्फ अहिलेदेखिनै योजना बनाउन कार्यालय प्रमुखहरुलाई उहाँले निर्देशन दिनुभएको छ । “मन्त्रालयले वितरणमुखी होइन, कार्यान्वयनमुखी बजेट ल्याएको छ । बेलैमा सम्पन्न गर्ने लक्ष्यका साथ अहिलेदेखिनै योजना बनाउनतर्फ लाग्नुहोस्”, मन्त्री श्रेष्ठले भन्नुभयो ।
कर्णालीमा विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको औंल्याउनुभएको उहाँले बजेट अख्तियारी पाउनेबित्तिकै कार्यान्वयनतर्फ लागे असार कुर्नु नपर्ने र सबै योजना सम्पन्न हुने दावी गर्नुभयो । भर्चुअल बैठकमा १० जिल्लाका कार्यालय प्रमुखहरुले आवश्यक प्राविधिक जनशक्ति नहुँदा काममा समस्या हुँदै आएको गुनासो राखेका थिए । उनीहरुले समयमै अख्तियारी नआउने विषयले पनि तोकिएको समयमा काम गर्न गाह्रो हुने गरेको औंल्याएका थिए ।