अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोल्पाको सुनिलस्मृतीमा एकल पुरुषलाई मासिक भत्ता

रोल्पाको सुनिलस्मृतीमा एकल पुरुषलाई मासिक भत्ता


रोल्पा- जिल्लाको सुनिलस्मृती गाउँपालिका-४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।

गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताउनुभयो । यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उहाँको भनाइ छ । ‘सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो,’ वडाध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार नगद दिइने छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।’

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि वडालाई उपलव्ध गराएको रु ७० लाख बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारेको हो । वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ ।

त्यस्तै, वडाभित्रका दलित, अपाङ्ग र असाहयका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम समेत अघि सारेको छ । गाउँपालिकाभित्र वसोवास गर्ने दुई सय सात दलित, अपाङ्ग र असाहायहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि रु एक लाख ३० हजार तथा दलित, अपाङ्ग र असाहयको निःशुल्क स्वास्थ्य बीमाका लागि रु सात लाख २५ हजार बजेट विनियोजन गरेको छ ।

त्यस्तै, वडाले शिक्षा र स्वास्थ्यलाई गरिब विपन्न वर्गको पहुँचसम्म पुर्‍याउन यस्तो कार्यक्रम ल्याइएको हो । यसअघि शिक्षामा सवै बालबालिकाको पहुँच पुर्‍याउन तथा पठन संस्कृतिको विकास गर्न विद्यार्थीको घरघरमा शिक्षण सिकाइ कुना स्थापना गरेको थियो ।

गरिबलाई विद्युत्मा सहज पहुँच पुर्‍याउन निःशुल्क उज्यालो कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ ।

प्रतिमहिना २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने गरेको छ ।