अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव समूहको प्रस्ताव– ‘पुनर्स्थापित केन्द्रीय कमिटी सहमतिमै बोलाइयोस्’

माधव समूहको प्रस्ताव– ‘पुनर्स्थापित केन्द्रीय कमिटी सहमतिमै बोलाइयोस्’


काठमाडौं– नेकपा एमालेको पुनर्स्थापित केन्द्रीय कमिटीको बैठक सहमतिमै बोलाउन माधव नेपाल समूहको दोस्रो पुस्ताले प्रस्ताव गरेको छ ।

संस्थापनले असार १७ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरिरहेकाबेला नेपाल समूहका नेताहरुले एकपक्षीय निर्णयले बैठक नबोलाउन प्रस्ताव गरेको हो । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी लगत्तै बिहीबार २०७५ जेठ २ को पार्टी संरचना अनुसारको केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।

बुधबार आयोजक कमिटी बैठक बस्दैछ ।

नेपाल समूहका एक नेताले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘एमाले लामो समय फरक समस्याले गुज्रिएकाले सहमति नभई बैठक बोलाउनु हुँदैन । बरु दुई दिन ढिला गरौं दुवै पक्षबीच सहमति गरौं । हार्दिकतापूर्वक बैठक बसौं ।’

असन्तुष्ट समूहका दोस्रो पुस्ताको बैठक निरन्तर बसिरहेको छ । सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरुले मंगलबार पनि नयाँ रणनीति र सहमति प्रयासका लागि छलफल गर्दै हुनुहुन्छ । स्रोतका अनुसार केही दिनयता निरन्तर बसिरहेको उक्त समूहले नेपाल र ओलीको व्यक्तिगत इगोका कारण सहमति हुन नसकेको निष्कर्ष निकालेको छ । त्यसमध्येका एक नेता भन्नुहुन्छ, ‘बुढो भएपछि निहुँ धेरै आउँदोरहेछ नि त ।’

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भने बिहीबार दिउँसो १ बजे पार्टी एकता पूर्वको एमाले केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको जानकारी दिनुभयो । तर, निर्णय आयोजक कमिटीले लिनेछ ।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बुधबार बोलाइएको आयोजक कमिटीको बैठकको तयारीबारे छलफल गर्न मंगलबार बेलुका ५ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिनुभयो ।