अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काष्ठमण्डप पुननिर्माणको काम ९० प्रतिशत सकियो

काष्ठमण्डप पुननिर्माणको काम ९० प्रतिशत सकियो


काठमाडौं- काठमाडौं महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो ।

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो ।

सुरुमै काठमाडौं महानगरपालिकाले ५० लाख दिएको थियो । पुनः पाँच-पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु ११ करोड ५० लाख पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिनुभयो ।

ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताउनुभयो ।

‘काठमाडौंमहानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख उपलब्ध गराएको छ,’ पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले भन्नुभयो, ‘हामीले करिब १२ करोडमा काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक रकम सहयोग गर्ने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सम्पूर्ण टिमलाई धन्यवाद ।’

शाक्यले पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटनको चरणमा पुग्ने बताउनुभयो । ‘हामीले समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिदैँ आएका छौँ,’ उहाँले भन्नुभयो, ‘काठ अभावका कारण पनि सामान्य ढिलाई भयो । अब त्यो समस्या पनि समाधान भैसकेको छ । हामीले रौतहटलगायतका जिल्लाबाट काठ ल्याई हेटौँडामा चिरान गरेर ल्याउँदै आएका छौँ । अब काठ अभावले काम रोकिन्न । हामी छिट्टै उद्घाटनको तयारीमा जुट्छौँ ।’

शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिनुभयो ।