काठमाडौं– झापाको बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने प्रयोजनमा गठन भएको टोली विवादमा तानिएको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आचारसंहिता विपरीत टोली गठन गरेर अनुगमनमा पठाएको रहस्य खुलेपछि टोली विवादमा तानिएको छ । गिरीले आयोगका पदाधिकारी र कर्मचारीहरुलाई समेत छल्दै तीन सदस्यीय टोली झापा पठाउने निर्णय गर्नुभएको थियो । प्रा.डा.प्रकाशराज पाण्डेको नेतृत्वमा बनाएको समितिमा विज्ञ डा.भोजराज अधिकारी र आयोगका निर्देशक डा. रमेश आचार्य सहितको समिती गठन गरिएको थियो । समितिलाई सहजिकरण गर्न आयोगका तर्फबाट उपसचिव सेमन्तराज कोइराला सहभागी हुनुहुन्थ्यो ।
समितिका सदस्यहरु झापा पुगेपछि थाहा भयो डा. अधिकारी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको एक मुद्दामा विपक्षी तर्फका साक्षी हुनुहुँदोरहेछ । आयोग स्रोतका अनुसार अधिकारीले स्थलगत अनुगमनमा जानु अघि गरेको प्रतिबद्धता पत्रमा बीएन्डसीसँग आफ्नो कुनै पक्ष विपक्षको सम्बन्ध नरहेको उल्लेख गर्नुभएको छ । गतवर्ष दुर्गा प्रसाईंले कलेजलाई सम्बन्धन दिन गीरीले ‘२० करोड रुपैयाँ घुस मागेको’ भन्ने मुद्दामा अधिकारीले गिरीको तर्फबाट बकपत्र गर्नुभएको छ । बकपत्रमा गिरीले क्षतिपूर्ति समेत पाउनु पर्ने र प्रसाईंलाई कारबाही हुनुपर्ने माग गर्दै अधिकारीले भन्नुभएको छ, ‘नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्ने हो । क्षतिपूर्ति वादीले पाउनु पर्ने हो ।’
‘बीएन्डसीका सञ्चालक विरुद्धको मुद्दामा बकपत्र गरेका व्यक्तिलाई अनुगमन गर्न पठाउँदा के रिपोर्ट आउँछ भन्ने कुरा पहिले नै थाहा हुन्छ नि,’ आयोगका एक सदस्यले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘यसमा आयोगका उपाध्यक्षको नियतमा पनि खोट छ र अस्पतालका सञ्चालककोविरुद्ध बकपत्र गरेर त्यसैको अनुगमन जाने व्यक्तिको नैतिकतामा पनि खोट छ ।’
आयोगका उपाध्यक्ष गिीले २९ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफूलाई ‘६ घण्टा बन्धक बनाएर बीएन्डसीलाई सम्बन्धन दिने गरी निर्णय लेख्न दबाब दिएको’ सार्वजनिक गर्नुभएको थियो । सञ्चार माध्यममा यस विषयको समाचार देखेपछि आयोगका कर्मचारीले गिरीलाई स्पष्ट पार्न माग गरेका थिए । त्यसमा गिरीले ‘आफूले त्यस प्रकारका कुनै समाचार नदेखेको’ प्रतिक्रिया दिएको कर्मचारीहरु बताउँछन् ।
२८ जेठमा बसेको आयोगको बैठकले सातदिन भित्र बीएन्डसीको अवस्था बुझेर समितिले आयोगमा प्रतिवेदन पेस गर्ने निर्णय भएको थियो । ‘साता दिनमा सक्ने भनेको काम १८ दिन बित्दा पनि सकिएको छैन । उल्टै समिति नै विवादमा परेर मेलोमेसो नै हराएको छ,’ आयोगका एक कर्मचारीले भन्नुभयो ।
आयोग स्रोतका अनुसार अधिकारीको प्रसाईंसँग विपक्षी सम्बन्ध भएको झापामा नै थाहा पाएपछि संयोजक पाण्डेले उपाध्यक्ष गिरीलाई फोनबाटै आक्रोस पोख्नुभएको थियो । काठमाडौं फर्केपछि अधिकारी र आचार्यले तयार गरेका बीएन्डसी प्रतिवेदनमा संयोजक पाण्डेले हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रतिवेदन अलपत्र परेको आयोग स्रोत बताउँछ । संयोजक पाण्डेले प्रतिवेदनका विषयमा सबै कुरा आयोगमा नै बुझन् आग्रह गर्नुभएको छ । ‘समिति र प्रतिवेदनसँग सम्बन्धित सबै कुरा आयोगमा बुझ्नुहोस्,’ पाण्डेले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘यस विषयमा जानकारी दिने निकाय आयोग नै हो ।’
समितिका सदस्य अधिकारीले प्रतिवेदनको विषय संयोजक वा आयोगले मात्र भन्न सक्ने बताउनुभयो । ‘प्रतिवेदन तयार भइसकेको छ । त्यस बिषयका कुरा संयोजकलाई वा आयोगमा सोध्नुहोस्,’ अधिकारीले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘त्यस भन्दा अरु विषयमा म अहिले केही भन्दिन ।’
समितिका सदस्य छनौट र गठनका विषयमा आयोगका सदस्य सचिब डिल्लीराम लुइँटेलले आफूलाई केही जानकारी नभएको बताउनुभयो । ‘उपाध्यक्षज्यूले यस विषयमा हामीलाई जानकारी नदिएकोले समितिमा को को हुनुहुन्छ र के पृष्ठभूमिका व्यक्तित्वहरु हुनुहुन्छ भन्ने कुुरा म भन्न सक्दिनँ,’ लुइँटेलले नेपाली बहस डट कमसँग भन्नुभयो ।
प्रतिक्रिया