अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको संवैधानिक निर्णय अदालतले हेर्न मिल्दैन : सहन्यायाधिवक्ता रेग्मी

राष्ट्रपतिको संवैधानिक निर्णय अदालतले हेर्न मिल्दैन : सहन्यायाधिवक्ता रेग्मी


काठमाडौं- सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले संवैधानिक रूपमा गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने तर्क गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा उहाँले प्रधानमन्त्री नियुक्तिका विषयमा राष्ट्रपतिको संवैधानिक अधिकार भएको तर्क गर्नुभएको हो ।

‘संविधानको धारा ७६ (५) राष्ट्रपतिको विशेष अधिकार हो, उक्त व्यवस्थाअनुसार राष्ट्रपतिले गरेको विवेकपूर्ण निर्णय अदालतबाट हेर्न मिल्दैन,’ सहन्यायाधिवक्ता रेग्मीले भन्नुभयो, ‘संविधानले नै प्रधानमन्त्री नियुक्ति गर्दा विश्वासको मत पाउनेरनपाउने अधिकार राष्ट्रपतिलाई दिएको छ, राष्ट्रपतिले ७६ को धाराअनुसार कसैसँग सल्लाह गर्नेसमेत कल्पना गरिएको छैन ।’

सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले प्रधानमन्त्री नियुक्त गर्दा विश्वासको मत दिने वा नदिने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको र राष्ट्रपतिले सोही अधिकारको प्रयोग गरेर विवेकपूर्ण निर्णय गरेको तर्क गर्नुभयो । उक्त विवादमा सरकारी वकिलकै बहस जारी छ ।