काठमाडौं- सरकारले मन्त्रिपरिषद्को चार बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले जेठ ३१, असार ७, १० र १४ गतेको मन्त्रिपरिषद् बैठकका ३३ वटा निर्णय सार्वजनिक गर्नु भएको हो ।
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा भीमकुमार ओझा नियुक्त हुनु भएको छ । त्यस्तै, बैठकले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ र ०७७/७८ गरी लगातार दुई वर्षसम्म वार्षिक रुपमा न्यूनतम एक सय जना कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूको इजाजतपत्र आर्थिक वर्ष २०७८/७९ को लागि नवीकरण गराउन आएमा नवीकरण गरिदिने निर्णय भएको छ।
सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकका सबै निर्णयहरू :
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय- सार्वजनिक खरिद पुनरावलोकन समितिको सदस्यमा श्री महेन्द्र बहादुर गुरुङ्ग, ओखलढुङ्गालाई नियुक्त गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय- राष्ट्रिय योजना आयोगको सदस्य पदमा श्री राजबहादुर गिरी, बाजुरालाई नियुक्त गर्ने।
गृह मन्त्रालय- वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय- फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थप 2078/05/31 गतेसम्म थप गर्ने।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय- आर्थिक वर्ष 2076/77 र 2077/78 गरी लगातार दुई वर्षसम्म वार्षिक रुपमा न्यूनतम एकसय जना कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०७८/७९ को लागि नवीकरण गराउन आएमा नवीकरण गरिदिने।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय- सुर्खेत जिल्ला चिङ्गाड गाउँपालिकाको केन्द्र वडा नं. ५, आवलिङबाट सोही गाउँपालिकाको वडा नं. २ पुङखेत कायम गर्न स्वीकृति दिने।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय- सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ स्वीकृत गर्ने ।
असार १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय- २०७८ असार २२-३१ गतेसम्म आयोजना हुन लागेको 2021 United Nations High Level Political Forum on Sustainable Development (HLPF) मा नेपालको तर्फबाट Virtual रुपमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेँलको नेतृत्वमा ७ सदस्यीय टोलीको मनोनयन गर्ने।
गृह मन्त्रालय- कार्य/अपराध अनुसन्धान विभागको कार्य विभाजन गरी प्रहरी अतिरिक्त महानिरीक्षक पद-१ (एक) को दरबन्दी सिर्जना गर्ने।
रक्षा मन्त्रालय- सैनिक सेवा (चौथो संशोधन) नियमावली, २०७८ को मस्यौदा उपर लोक सेवा आयोगको परामर्श माग गर्न स्वीकृति प्रदान गर्ने।
-नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को नियम ३१. बमोजिम मं.प.बै.सं. 18।०७8 मिति २०७8/२/2७ को बैठकबाट गठन भएको मन्त्रिपरिषद्का समितिमा हेरफेर गरी पुनर्गठन गर्ने।
-नेपाल सरकारको प्रवक्तामा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई तोक्ने।
असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय- नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गर्ने।
अर्थ मन्त्रालय- एशियाली विकास बैङ्कको कार्यकारी निर्देशकको कार्यालय, मनिलामा नोभेम्बर १, २०२१ देखि अक्टोबर ३१, २०२३ सम्मको २ वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा अर्थ मन्त्रालयका उपसचिव श्री रमेश अर्याललाई मनोनयन गरी निजलाई उक्त अवधिमा बैङ्कको केन्द्रीय कार्यालय मनिलामा काजमा पठाउने।
अर्थ मन्त्रालय- विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने 1५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र तत्सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्नका लागि नेपाल सरकार अर्थ मन्त्रालयका सचिव वा सहसचिव, अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा, अर्थ मनत्रालयलाई अख्तियारी दिने।
अर्थ मन्त्रालय- राष्ट्रिय बीमा संस्थानको प्रशासकमा श्री कविप्रसाद पाठक, झापालाई पुन: नियुक्ति गर्ने।
गृह मन्त्रालय- सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयको मानवश्रोत विभागमा कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री पुष्पराम के.सी.लाई कार्य तथा सीमा सुरक्षा विभागमा र कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री रामशरण पौडेललाई मानवश्रोत विभागमा सरूवा गर्ने।
रक्षा मन्त्रालय- नेपाली सेनाका पाइलट सहायक रथी आशिश नरसिंह राणालाई पाइलट उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय- मदन मण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा प्रा.डा. मनराज कोलाक्षपति, डा. पदम बहादुर शाही र डा.अनिल पोखरेललाई नियुक्त गर्ने।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य-सचिव पदमा वालिङ नगरपालिका, स्याङ्जाका श्री जीवनारायण काफ्लेलाई तोक्ने।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय- राष्ट्रिय समाचार समितिको महाप्रबन्धक पदमा सहिदभूमी गाउँपालिका-३, धनकुटाका श्री सिद्धराज राईलाई नियुक्ति गर्ने।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय- खोपको क्लिनिकल ट्रायलसम्बन्धी प्रक्रिया स्वीकृत गर्ने।
जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय- सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष पदमा श्री भीमकुमार ओझा, पाँचथरलाई नियुक्ति गर्ने।
अर्थ मन्त्रालय- गण्डकी नदी बेसिनमा जोखिम समुदाय तथा परिस्थितिकीय प्रणालीको जलवायु समानुकूलन सुधार आयोजनाका लागि हरित जलवायु कोषबाट IUCN मार्फत प्राप्त हुने अमेरिकी डलर २७.४ मिलियन अनुदान सहायता स्वीकार गर्ने।
अर्थ मन्त्रालय- जापान सरकारबाट Project for Human Resource Development Scholarship (JDS) दोस्रो चरण अन्तर्गत सन् २०२1 का लागि छात्रवृत्तिको रुपमा प्राप्त हुने जापानी येन 356 मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय- सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं.10 स्थित 61-6-0 बिघा नदी उकास जग्गा मध्येबाट हुलाकी राजमार्ग र सोको मापदण्डअनुसारको जग्गा छाड्ने गरी रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई 30 वर्ष अवधिको दीर्घकालीन लिजमा उपलब्ध गराउन स्वीकृति दिने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय- नेपाल इन्जिनियरिङ्ग परिषद्को रजिष्ट्रार पदमा ई. श्री शिव मंगल गिरीलाई नियुक्ति गर्ने।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय- खबर गरौ ११४५ हेल्पलाईन सेवा सञ्चालन गर्न राजपत्राङ्कित तृतीय श्रेणीका विभिन्न ४ अस्थायी दरवन्दी स्वीकृत गर्ने।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय- नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा.अर्जुन कार्की, सदस्यमा डा. अमिना सिंह, डा. असीम ढकाल, प्रा.डा. विपिनचन्द्र अधिकारी, बिरेश शाह, डा. दोभान राई, डा. संगिता कौशल मिश्र, डा.सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणालाई नियुक्त गर्ने।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय- विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा खड्गबहादुर राई र वाङछेदर लामालाई नियुक्त गर्ने।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय- बीउ बिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय- सडक बोर्डको कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तसम्बन्धी (दोस्रो संशोधन) नियमावली, 2078 स्वीकृत गर्ने।







प्रतिक्रिया