अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल पक्षलाई विष्णु पौडेलको आग्रह : अप्ठ्यारो नमानेर केन्द्रीय कमिटीको बैठकमा आउनुहोला

नेपाल पक्षलाई विष्णु पौडेलको आग्रह : अप्ठ्यारो नमानेर केन्द्रीय कमिटीको बैठकमा आउनुहोला


काठमाडौं- नेकपा एमालेका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू उपस्थित हुने बताउनुभएको छ ।

उहाँले एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी ब्युँताएको अवस्थामा सबै नेताहरू तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नुपूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताउनुभएको हो ।

मन्त्री पौडेलले नेपाल पक्षीय नेताहरू बैठकमा नआउनु अनुचित हुने पनि बताए ।

‘केन्द्रीय कमिटीको बैठकमा आउनका लागि उहाँहरूले अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन । आजका मितिदेखि कारबाहीका प्रशंग पनि सकियो । र स्वभाविक रूपमा पूर्वहैसियत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्दा अगाडिको अवस्थाबाट, अगाडिको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि त्यो बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । त्यसकारणले म आशा गर्छु उहाँहरू आउनुहुनेछ,’ मन्त्री पौडेलले भन्नुभयो ।

एमालेले आज दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको केन्द्रीय कमिटी ब्युँताएको छ ।

सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ ।