उदयपुर- जिल्लाको बेलकामा गाउँले र प्रहरीबीच झडप भएको छ । झडपमा परी १६ जना घाइते भएका छन् । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेले विरोध गर्दा झडप भएको हो ।
नगरपालिका–३ र ९ लगायतका वासिन्दालाई बिचल्ली बनाउने गरी मेयरले कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै स्थानीय वासिन्दा नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।
गाउँलेले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले नगरपालिकाको गाडी र मेयरको कार्यकक्षमा समेत तोडफोड गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको डीएसपी गौतमले बताउनुभयो ।
झडपमा सशस्त्र प्रहरीका दुई, नेपाल प्रहरीका चार जना गरी ६ जना प्रहरी कर्मचारी घाइते भएका छन् । त्यस्तै, १० जना गाउँले पनि घाइते भएका छन् ।
घाइते प्रहरीको सदरमुकाम गाईघाटमा उपचार भइरहेको डीएसपी गौतमले जानकारी दिए । प्रदर्शनमा सहभागी १० भन्दा बढी गाउँलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया