अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी गठबन्धनलाई दिएको वचन नेपाललाई गलपासो

विपक्षी गठबन्धनलाई दिएको वचन नेपाललाई गलपासो


काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेका बेला पनि एमालेमा माधव नेपाल समूहलाई सहमतिमा ल्याउन संस्थापन पक्षले हदैसम्मको लचकता अपनाएर प्रयास जारी राखेको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा हस्ताक्षर बुझाएको माधव समूहका सांसदहरुलाई पर्सी सोमबारसम्म हस्ताक्षर फिर्ता गर्न पार्टीले निर्देशन दिएपछि पनि उनीहरुलाई फकाउने क्रम जारी रहेको संस्थापनका एक नेताले जानकारी दिनुभयो ।

ती नेताका अनुसार आज पनि दिउँसो १२ बजे नेताहरुबीच भेटघाट आयोजना गरिएको छ । ‘त्यहाँका केही साथीहरुले दुईतिरै खुटा हाल्नु भएको छ,’ संस्थापनका एक नेताले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘अबका ७२ घण्टा उहाँहरुलाई सहमतिमा ल्याउने प्रयास हुन्छ । यो समयमा पनि उहाँहरु नआए पार्टीले उहाँहरुलाई पर्खिदैन ।’

सहमतिको प्रयास स्वरुप प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै कमिटीहरुलाई जेठ २ मा फर्काउने निर्णय गर्नुभएको छ । तर माधव नेपालले नयाँ नयाँ सर्त अघि सारेर सहमतीलाई टाढा धकेलेको उहाँकै समूहका नेताहरुले बताउन थालेका छन् । सहमतिको प्रयास स्वरुप अस्ती बिहीबार साँझ प्रधानमन्त्री ओलीले नेता नेपाललाई टेलिफोन गर्नुभएको थियो । नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलको उपस्थितिमा राती साढे नौ बजेतिर भएको संवादमा माधव नेपालले अत्यन्त रुखो जवाफ फर्काएको नेताहरुले बताउनुभएको छ । स्वयं प्रधानमन्त्री ओलीले हिजोको बैठकमा माधव नेपालको भनाइ उधृत गर्दै भन्नुभयो, ‘म तपाईंको फोन उठाउनेवाला थिइनँ । साथीहरुले भनेर मात्र उठाएको हुँ । ’

आखिर माधव नेपाललाई आफ्नो पार्टीमा फर्कन के कुराले छेक्यो त ? निकटस्थहरुका अनुसार विपक्षी गठबन्धनलाई दिएको वचन अहिले उहाँलाई गलपासो भएको छ । ‘म कुनै हालतमा धोका दिन्न तपाईं अघि बढ्नुहोस् भनेर नेकपाकालदेखि नै प्रचण्डलाई उत्प्रेरित गर्नुभयो र पार्टीको स्थिति यो भयो,’ एक नेताले भन्नुभयो, ‘अहिले त्यही उत्प्रेरणा शेरबहादुर देउवालाई पनि दिनुभएकोले त्यो चंगुलबाट फुत्किन उहाँलाई मुस्किल परेको छ ।’