काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजेपछि सुरु भएको हो । बैठकमा संगठनात्मक प्रस्ताव प्रस्तुत भई त्यसउपर छलफल हुने बताइएको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार महासचिव ईश्वर पोखरेलले आज बैठकमा संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभएपछि छलफल सुरु हुनेछ । एमालेको १३ औं केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बसेको थियो ।
आजको बैठकमा महाधिवेशनको मिति तय गर्नेबारेमा निर्णय हुनसक्ने पार्टी कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । यसअघि एमालेले दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने तय गरेको थियो । पार्टी एकता कायम गर्ने उद्देश्यसाथ गत बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटी विघटन गरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो ।
तर नेता माधवकुमार नेपाल पक्षका नेताहरु बैठकमा सहभागी नजनाउनु भएपछि महाधिवेशनको मिति पुनः तय गर्न लागिएको हो । शुक्रबार बसेको बैठकले नेता नेपाल पक्षका नेताहरूलाई पनि बैठकका लागि आव्हान गरेको थियो । तर, कोही नेताको उपस्थिति रहेन । हिजोको बैठकमा उपाध्यक्ष बामदेव गौतमको सहभागिता रहेको थियो ।
आजको बैठकमा पनि नेता नेपाल पक्षका नेताहरू सहभागी हुनेनहुनेबारे कुनै औपचारिक तथा अनौपचारिक जानकारी आइनसकेको कार्यालय सचिव तामाङले बताउनुभयो ।
एमालेको दशौं महाधिवेशनको मिति सम्भवतः केही अगाडि सर्न सक्ने नेताहरूको अनुमान छ ।







प्रतिक्रिया