अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहमतिमा आउन आग्रह गर्दै संस्थापन पक्षका नेताहरू नेपाल निवासमा

सहमतिमा आउन आग्रह गर्दै संस्थापन पक्षका नेताहरू नेपाल निवासमा


काठमाडौं- नेकपा एमालेमा सहमति कायम गर्नका लागि संस्थापन पक्षका नेताहरू थप लचकताका साथ प्रस्तुत भएका छन् । कार्यदल तहमा छलफल जारी राखेका नेताहरूले आज विहान वरिष्ठ नेता माधवकुमार नेपाललाई घरमै गएर भेटेका छन् ।

नेताहरू सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले विहान नेपाललाई कोटेश्वरमा गएर भेट्नु भएको हो । नेपालनिकट एक नेताका अनुसार नेपालले हिजोको केन्द्रीय कमिटीबाट एक पक्षीय निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

संस्थापन पक्षका नेताहरूले ‘तपाईलाई पटकपटक अनुरोध गर्दा पनि नआएपछि बाध्य भएर बैठक अगाडि बढाउनु परेको’ बताएका थिए ।

नेता नेपाललाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न र सहमतिमा पुग्न संस्थापनका नेताहरूले आग्रह गर्नुभएको छ ।

यता माधव नेपाल समूहका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि आन्तरिक भेटघाट गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नुभएको छ ।

एमाले सचिव भीम आचार्यका अनुसार आज साँझ पनि दुवै पक्षका नेताहरू भेटेर थप संवाद गर्ने तयारी छ । भेटमा सहभागी नेताले दिएको जानकारीअनुसार संस्थापन पक्षका नेताहरू प्रधानमन्त्रीसँग भेटघाट गर्नुस् भन्दा उहाँले कुनै प्रतिक्रिया दिनुभएको छैन ।