मनाङ- माथिल्लो मनाङमा यातायात सुचारु भएको छ । यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।
बाढीपहिराले क्षति पुर्याएको सडक मर्मत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक टोली सहितको अनुगमनपश्चात यातायात सञ्चालन भएको छ ।
मनाङ समाज र पूर्व सांसद पोल्देन छोपाङका सहयोगमा यातायात सञ्चालनमा ल्याइएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । ‘गाउँपालिकाभित्र मात्रै सवारी सञ्चालनमा ल्याइएको छ, सामान ढुवानी गर्न भने सहज भएको छ,’ उहाँले भन्नुभयो । खाङ्सारसम्म सामग्री ल्याउन लैजान सहज भएको उहाँले बताउनुभयो ।
जिल्लोको तल्लो भागमा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । माथिल्लो मनाङमा सडक सञ्जालमा कम क्षति भएकाले सवारी चलाउन लागिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । तल्लो भागमा भने सञ्चालन गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताउनुभयो ।
भ्राताङको भीर भने बम ब्लाष्टिङ गरेर मात्रै बाटो बनाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । जिल्लामा सडक सञ्जाल सहज बनाउने प्रयासमा रहेपनि धेरै ठाउँमा निसान समेत मेटिएकाले सकस भएको छ । सदरमुकाम चामेसम्म पुग्ने अवस्था भने छैन । माथिल्लो पिसाङ र तल्लो पिसाङको पुल मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएपछि विच्छेद भएको छ । लमजुङदेखि मनाङलाई सडक सञ्जालसँग जोड्नका लागि सडक डिभिजन प्राधिकरणले शुरुआत गरिसकेको छ ।
अहिले जिल्लाबाट अन्यत्र जान जङ्गलको बाटो भएर हिड्नुपर्ने अवस्था छ । जिल्लाको तल्लो भागका एक गाउँबाट अर्को गाउँ जानका लागि गोरेटो बाटो समेत छैन । मस्र्याङ्दी नदीमा बहाव केही कम भएपनि नदीले कटान भने रोकिएको छैन । यसले गर्दा केही गोरेटो बाटो बनाएपनि नदीले बगाएको छ । रासस







प्रतिक्रिया