काठमाडौं- समयमा महाधिवेशन नगरेकोले नेकपा माओवादी केन्द्र खारेजीको माग गरेर आज निर्वाचन आयोगमा दुईवटा निवेदन दर्ता हुने भएका छन् ।
नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ सहितको एक समूह र एकजना अधिवक्ताले माओवादी खारेजीको माग गर्दै आज निर्वाचन आयोग जाने भएका हुन् ।
दिउँसो १२ बजे आयोगमा गएर माओवादी पार्टी अवैध भएको माग दाबी सहित उजुरी गरिने नेता प्रभू साहले जानकारी दिनुभयो । २०७१ सालदेखि पार्टीको महाधिवेशन नगरेकोले यो पार्टीको वैद्यतामा प्रश्न उठाउँदै पूर्व माओवादी पार्टीमा रहेका नेताहरुले खारेजीको माग गरेका हुन् ।
साहका अनुसार माओवादी पार्टी खारेजीको माग गर्दै आज निर्वाचन आयोगमा दुईवटा उजुरी हालिनेछन् । ‘आज बिहान हामीले केही वकिलहरुसँग परामर्श गरेका छौं । सोही अनुसार एउटा उजुरी हामी नेताहरुको तर्फबाट हाल्नछौं । अर्को उजुरी एकजना वकिलले हाल्नुहुनेछ,’ साहले नेपाली बहस डट कमसँग भन्नुभयो ।
साहले आफूहरु प्रत्यक्ष निर्वाचित सांसद भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको कारबाही वैधानिक नभएकोसमेत जानकारी गराइने बताउनुभयो । ‘हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन,’ पूर्वमाओवादी नेता प्रभु साहले भने, ‘त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौँ ।’ केहीदिनभित्रै सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर्न लागिएको साहले बताउनुभयो ।







प्रतिक्रिया