अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलमा अपाङ्गतालक्षित घरदैलो स्वास्थ्य सेवा सुरु

बुटवलमा अपाङ्गतालक्षित घरदैलो स्वास्थ्य सेवा सुरु


बटवल- अपाङ्गता भएकाहरूलाई लक्षित गरेर बुटवल उपमहानगरपालिकाले उनीहरूको घरदैलोमा प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउन सुरु गरेको छ ।

अपांगताका सवालमा मानवअधिकारमैत्री सहरका रूपमा पाँच वर्षे रणनीतिक योजना बनाएर काम गरिरहेको बुटवल उपमहानगरले मुलुकमै पहिलो पटक अपाङ्गता लक्षित घरदैलो स्वास्थ्य सेवाको महत्वपूर्ण अभियान सुरु गरेको हो ।

अस्पतालसम्म लैजान गाह्रो हुने र असहज हुने विभिन्न तहका अपाङ्गता भएका बुटवलका नागरिकका लागि घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने र प्राथमिक स्वास्थ्य सेवा तथा औषधि निशुल्क उपलब्ध गराउने काम सुरु भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

उपप्रमुख गुमादेवी आचार्य नेतृत्वमा स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र वरिष्ठ कर्मचारीहरुको टोलीले बिहीबारदेखि घरदैलो अभियान सुरु गरेको छ । उपमहानगरका १९ वटै वडामा रहेका अपांगता भएकाहरुको लगत संकलन गरि उनीहरूको अवस्थाको विश्लेषण गरेर प्राथमिकताका आधारमा यस्तो अभियान सुरु गरिएको उपप्रमुख आचार्यले बताउनुभयो ।

बुटवलमा विभिन्न १० प्रकारका अपाङ्गता भएका करिब १३६५ जना रहेको तथ्यांक संकलन भएको छ । अहिले सुरु भएको घरदैलो स्वास्थ्य सेवाको पहिलो कार्यक्रम क र ख वर्गमा रहेका ३ सय २३ जनालाई पुर्‍याइने छ । त्यसपछि ग र घ वर्गका लागि अवस्था अनुसारका सेवा उपलव्ध गराउनेगरि तयारी भइरहेको उपमहानगरका महाशाखा प्रमुख तुलसा अर्यालले बताउनुभयो ।

घरदैलो स्वास्थ्य सेवाका अतरिक्त बुटवलले अपांगता भएकाहरुलाई उनीहरुको रुचिका आधारमा विभिन्न सीपमूलक तालिमको समेत व्यवस्था मिलाएको छ । सीपमूलक तालिम लिएकाहरूमध्ये कतिपयले स्वरोजगारमा उदाहरणीय काम गरेको नगर अपाङ्गता समन्वय समितिका सदस्य सावित्रा घिमिरेले जानकारी दिनुभयो ।

लक्षित वर्गका लागि सहायता सामग्री, उपचार, सीपमूलक तालिम, अभिभावकमा सचेतना तथा छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरिएको छ भने तीन वटा आश्रमलाई अझ व्यवस्थित बनाउने काम सुरु गरिएको छ । उजेलापुर, तामनगर र देवीनगरमा गरी तीन वटा आश्रममा करिब एक सय जना अपाङ्गता भएका समुदायलाई हेरचाह गरिएको छ ।

अपाङ्गता भएकाहरूलाई शिक्षा, परामर्शलगायतका काम गर्दै आउनुभएका सुस्त मनस्थिति बाल विद्या मन्दिरका लोकनाथ भुषालले बुटवलले अपांगता लक्षित घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेर मुलुकमै नमुना काम गरेको भन्दै सराहना गर्नुभयो । उहाँ पनि यो अभियानमा सहकार्य र सहजकर्ताका रुपमा खटिनुभएको छ ।

यस्तै अपांगता भएकाको अधिकार, पहुँच र पुनस्थापनालागतका काममा निरन्तर पैरवी गर्दै आउनुभएकी सावित्रा घिमिरेले बुटवलले रणनीतिक कार्ययोजना बनाएर त्यसलाई कार्यान्वयन गर्नेगरि नमुना कामको थालनी गरेको बताउनुभयो ।

पहिलो दिन अपांगता भएका बुटवल-१२ नयाँगाउँ भैरहवा टोलका दिदीबहिनी ३६ वर्षीया सीला र २७ वर्षीया सीमा मल्ल, बुटवल-१६ मधैयाका १५ वर्षीया कमला पोखरेल तथा बुटवल १६ का दाजुबहिनी ३५ वर्षीय हरि र २८ वर्षीया मिना गौतमको स्वास्थ्य अवस्थाको जाँच गरिएको थियो ।

उनीहरुका लागि थप परीक्षण गर्नुपर्ने भए साथै आवश्यक औषधि उपलव्ध गराइएको उपमहानगरका सामाजिक महाशाखा प्रमुख तुलसा अर्यालले जानकारी दिनुभयो ।

बिहीबारदेखि सुरु अभियानमा उपमहानगरका जनस्वास्थ्य अधिकृत उमा थापा, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बुटवलका मेडिकल अफिसर आशिर्वाद अर्याल तथा सुस्त मनस्थिति भएकाहरूलाई साक्षर बनाइरहेकी शिक्षक सकुन्तला न्यौपानेलगयातले सहजीकरण गर्नुभएको छ ।