अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकेटार विमानस्थलमा जहाज अवतरण

सुकेटार विमानस्थलमा जहाज अवतरण


ताप्लेजुङ- कोभिड-१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो ।

नेपाल वायु सेवा निगमको जहाजले काठमाडौंबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौं फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताउनुभयो ।

निगमले गत सोमबारदेखि नै नियमित उडान शुरु गरेको थियो । गत सोमबार काठमाडौंबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौँ फर्केको थियो । सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले बताउनुभयो ।

सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म रु सात हजार ५० विमान भाडा शुल्क र ताप्लेजुङदेखि काठमाडौं सात हजार १९० भाडा शुल्क तोकिएको कार्यालयले जनाएको छ ।

निगमले ताप्लेजुङदेखि १ नम्बर प्रदेश राजधानी विराटनगरमा पनि नियमित उडानको लागि प्रक्रिया आगाडि बढिरहेको लिम्बुल बताउनुभयो ।