अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस काउन्सिललाई थप बलियो बनाउनुपर्नेमा विज्ञहरूको जोड

प्रेस काउन्सिललाई थप बलियो बनाउनुपर्नेमा विज्ञहरूको जोड


काठमाडौं- विज्ञहरूले प्रेस काउन्सिल नेपाललाई थप बलियो र स्वायत्त बनाउनुपर्ने सुझाव दिएका छन् । काउन्सिलको आयोजनामा काठमाडौंको बुढानिलकण्ठमा सुरु भएको प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरूले यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने र त्यसका लागि काउन्सिलले पहल गर्नुपर्ने आवाज उठेको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको ग्यारेन्टी कानुनले गर्ने भएकाले कानुन निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताउनुभयो ।

यस्तै, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालको नियमन गर्दा काउन्सिलले थप अध्ययन गर्नुपर्ने बताउनुभयो । छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले व्यक्तिगत सञ्चार र जिम्मेवार सञ्चारबिचको भेद छुट्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो’ ‘जो पनि पत्रकार हुने स्थितिले पत्रकारिता मर्यादित र विश्वसनियता घटेको छ । पर्सनल मिडिया र रेस्पोन्सिवल मिडिया छुट्याउनुपर्छ ।’

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारिता नेताले त बोलिहान्छन् नि भनेजस्तो पत्रकारले त लेखिहाल्छन् भन्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्नुभयो । उहाँले काउन्सिलले मिडिया उपभोक्ताको कुरा सुन्नुपर्ने, उनीहरूले सही सूचना पाएको नपाएको हेर्नुपर्ने बताउनुभयो । कार्टुनको विषयमा आचारसंहिता आकर्षित नहुने भन्दै उहाँले काउन्सिल पत्रपत्रिका वर्गीकरणको कामबाट अलगिनुपर्ने धारणा राख्नुभयो ।

महासंघका पूर्वमहासचिव उजिर मगरले प्रदेश सरकारहरुले नयाँ नीति ल्याएर नियमनकारी निकाय गठन गरेकाले काउन्सिलको भूमिकामा चुनौती थपिएको बताउनुभयो । वरिष्ठ पत्रकार बबिता बस्नेतले काउन्सिलको स्वायत्ततामा प्रश्नचिन्ह उठेको भन्दै व्यक्तिको सामाजिक सञ्जालमाथिको निगरानीमा काउन्सिलले हात हाल्न नहुने बताउनुभयो ।

आचारसंहिताको अक्षरस पालना गर्ने हो भने नेपालको पत्रकारिता मर्यादित र जिम्मेवार बन्ने बताउनुभयो । प्रेस मञ्चका अध्यक्ष केशव अर्यालले प्रेस काउन्सिलको स्वायत्तताका विषयमा समिक्षा गर्नुपर्ने भन्दै काउन्सिलमाथि सरकारको प्रत्यक्ष हस्तक्षेप देखिन नहुने बताउनुभयो । सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भावनात्मक विषय र व्यवसायिक आचारसंहितालाई नियम तथा कार्यविधीमा कसरी संरचनाभित्र ल्याउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।

लोकान्तर डटकमका प्रधान सम्पादक बिमल गौतमले प्रेस काउन्सिल मिडियाको वाच डग भएकाले काउन्सिलले उजुरी पर्दैमा पत्र काटिहाल्न नहुने बताउनुभयो । उहाँले कतिपय उजुरी परेका विषयमा काउन्सिल स्वतन्त्र अनुगमन नगरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा इन्जाका अध्यक्ष एवं वरिष्ठ पत्रकार टंक पन्तले काउन्सिलले स्वतन्त्र रूपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले पत्रपत्रिका वर्गीकरणलगायतका काममा काउन्सिल विवादित बनेको भन्दै नयाँ नेतृत्वले विवाद चिरेर काम गर्नुपर्ने बताउनुभयो ।

सुरु भयो पत्रकार लाइसेन्सको बहस

कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने बताएका छन् । पत्रकारिताका विज्ञहरुबिच लाइलेन्सको व्यवस्थाका विषयमा छलफल सुरु भएको हो । प्रेस काउन्सिल नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पत्रकारलाई लाइसेन्स दिने व्यवस्थाले मर्यादित र जिम्मेवार पत्रकारिताको विकास हुने बताए ।

लोकान्तर डटकमका प्रधान सम्पादक बिमल गौतमले पत्रकारिता क्षेत्रमा स्वतन्त्रताको नाममा पत्रकारिता क्षेत्र अराजक बन्दै गएकाले लाइसेन्सको व्यवस्था अनिवार्य गर्नुपर्ने बताउनुभयो । पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकार लाइसेन्सको व्यवस्था गर्दा लाइसेन्स प्रक्रियामा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले एउटा मोबाइलले सिंगो पत्रकारिता क्षेत्रमा चुनौती थपिएको भन्दै काउन्सिलको कार्यक्षेत्र, भूमिकालगायतका विषयमा सरोकारवाला निकायहरु नेपाल पत्रकार महासंघ, पेसागत संघ संगठन, विज्ञ लगायतसँग छलफल बहस गरी अघि बढ्नुपर्ने बताउनुभयो । काउन्सिल त्यसखालको बहसका लागि सदैव तयार रहेको उहाँको भनाई थियो । रचनात्मक आलोचनाले काउन्सिलको स्वायत्ततालाई जोगाउने भन्दै उहाँले सबै क्षेत्रबाट सुझाव आवश्यक रहेको बताउनुभयो ।

काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, काउन्सिलका सदस्य हरिप्रसाद जोशी, दीपक पाण्डे, गणेशप्रसाद पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, अधिवक्ता अनन्तराज लुइँटेल, विज्ञापन बोर्डका सदस्य बलराम थापा, चेतन अधिकारी, प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।