सिन्धुपाल्चोक- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि राजनीतिभन्दा जनता प्यारो भएको बताउनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
सिन्धुपाल्चोकका विभिन्न बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनपछि मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीति विषम परिस्थितिमा भए पनि यहाँको जनताको दुःख बुझ्न आफैँ आएको बताउनुभयो । ‘तपाईंहरूलाई थाहा छदैछ अहिलेको राजनीतिक अवस्था तर मलाई त्यो भन्दा तपाईंहरूका पीडा र दुःख महत्वपूर्ण लागे त्यसकारण म यहाँ आँए,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘जनताका समस्या समाधान गर्नु मेरो प्रमुख दायित्व हो ।’
प्रधानमन्त्री ओलीले बाढी पीडितलाई राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाउनसमेत आग्रह गर्नुभएको छ । ‘कसैलाई राहत दिन मन लागे ल्याएर स्थानीय तहलाई जिम्मा दिनुहोस्,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘कसलाई कति राहत आवश्यकक छ भनेर जनप्रतिनिधिले जान्नुहुन्छ । उहाँहरूले त्यसैअनुसार वितरण गर्नुहुन्छ ।’
गत असार एक गते सिन्धुपाल्चोकमा आएको बाढीले हेलम्बू, मेलम्ची, थाङपाललगायतका ठाउँमा बाढीपहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । साथै, अर्बौंको भौतिक संरचना नष्ट भएको छ ।







प्रतिक्रिया