अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज विश्व बाघ दिवस, बाघ संरक्षणसँगै मानवीय क्षतिको चुनौती

आज विश्व बाघ दिवस, बाघ संरक्षणसँगै मानवीय क्षतिको चुनौती


 

काठमाडौं- आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ यो दिवस मनाइँदै छ ।

पछिल्लो समय बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ । नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् ।

बाघ संरक्षणमा नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ मा त्यो सङ्ख्या बढाएर २५० बनाउने लक्ष्यअनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका छन् ।

संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहँदा सन् २०२२ सम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ ।

बाघको सङ्ख्या वृद्धि हुँदै जाने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर बढाई २५० पुर्‍याउने लक्ष्य राखेकामा हाल यो सङ्ख्या २३५ पुगिसकेको थाहा पाउँदा खुशी लागेको र बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्णरूपमा हासिल हुने विश्वस्त व्यक्त गर्नुभएको हो ।

उहाँले ‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ मनाइने दिवसका सन्दर्भमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको जनाउनुभएको छ । राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको जनाइएको छ ।

“बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानूनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी संस्थाको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो”, सन्देशमा भनिएको छ, “जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।”-

“बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानूनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी संस्थाको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो”, सन्देशमा भनिएको छ, “जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।”