अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फुटबाट जोगिदै एक ठाउँमा उभियो बाँके एमाले

फुटबाट जोगिदै एक ठाउँमा उभियो बाँके एमाले


नेपालगञ्ज– आकर्षक चार वटा नारासहित नेकपा एमालेको बाँके जिल्ला कमिटी संगठन विस्तारमा परिचालन भएको छ ।

पार्टी केन्द्रमा नेतृत्वको विवाद तिव्र भए पनि बाँकेको नेकपा एमालेलाई यो हावाले खासै छुन सकेको छैन । पार्टीको संस्थापनले असन्तुष्टहरूलाई पनि समेट्ने रणनीति लिएको छ । जसले गर्दा माधव नेपाल पक्षीय कतिपय जिल्ला नेता कार्यकर्ता मात्र होइन माओवादी नेता कार्यकर्ता पनि एमालेको संगठनभित्र अटाउन थालेका छन् ।

एमले नेपालगञ्ज उपमहानगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यका अनुसार फुटपरस्त व्यक्तिहरुलाई छोड्दै पार्टी र संगठन बिस्तारलाई निरन्तरता दिइएको छ । एमाले बाँकेले साउन २० गतेभित्र पार्टीको सदस्यता नविकरण गरिसक्ने लक्ष्य छ । ‘पार्टी विादका बीच उपमहानगरका सबै २३ वटा वडा कमिटीहरू गठन गरिसकेका छौं । ति कमिटीका बैठकहरू एक पटकपटक भएका छन्,’ आचार्यले भन्नुभयो, ‘नविकरण सकिएपछि पार्टीभित्रको विवादले वास्तव मै हामीलाई कति असर गरेको छ भन्ने कुरा थाहा हुन्छ । अहिलेसम्म ९० प्रतिशत सदस्यले विना आनाकानी सदस्यता नविकरण गर्नुभएको छ । यसबाट हामी उत्साहित भएका छौँ ।’

बाँकेका एक उपमहानगर, एक नगरपालिका र छ वटा गाउँपालिका छन् । त्यसमा सूर्य चिन्हबाट जितेका कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतसहित र दुई गाउँपालिका अध्यक्ष र तीन जना उपाधक्ष्य संस्थापन एमालेमा छन् । एक जना अध्यक्षले अझै आफ्नो कित्ता स्पष्ट गरेका छैनन् । ३१ जना वडा अध्यक्षमध्ये २८ जना संस्थापन एमालेमा रहेको ढकालको दाबी छ ।

जिल्ला अध्यक्ष सूर्य ढकालले जिल्ला पार्टीको अवस्था बारे तथ्यांक नै बनाएर बोक्नु भएको छ । उहाँको तथ्यांकले संस्थापन एमाले उत्साहित भएको छ । ढकालका अनुसार बाँकेबाट दुई जना केन्द्रीय सदस्य भएकोमा संस्थापनमा दुवै जना थिए । त्यसमा दिनेशचन्द्र यादवको मृत्यु भइसकेको छ । बाँकी रहेका हासुन हलुवा संस्थापनमै हुनुहुन्छ । त्यसैगरी, लुम्बिनी प्रदेश कमिटीमा बाँकेबाट सात जना नेताहरूले प्रतिनिधित्व गर्दछन् । त्यसमा मध्ये छ जना संस्थापन एमालेमै छन् ।

आठ वटा स्थनीय तहका पार्टीका अध्यक्षमध्ये सात जना संस्थापन एमालेमै रहेको ढकालले जानकारी दिनुभयो । जसमध्ये खजुरा गापा सचिव माधव नेपालतिर खुलेका छन् । माओवादीसँग पार्टी एकता हुँदाका बखत बनाइएको कमिटीमा रहेका संयोजक वा सचिवलाई नै अहिले स्थानीय तहको पार्टीको प्रमुखको जिम्मेवारी दिइएको छ । प्रदेशसभाका चार सांसदमध्ये तीन जना संस्थापन पक्षको पार्टी कमिटीमा सक्रिय छन् ।

बाँके जिल्लाको एमालेका जनवर्गीय संगठनमा एउटा नौलो संगठनको नाम देख्न सकिन्छ । त्यो माओवादीका पूर्व जनमुक्ति सेनाको संगठन हो । त्यो संगठनको नाम भूतपूर्व जनमुक्ति सेना हो । जसमा माओवादी युद्धकालमा जनमुक्ती सेनाको काम गरेका करिब ४ सय जना पूर्व लडाकुहरू एमालेको झण्डामा गोलबन्द छन् । अजय बैधार अध्यक्ष रहेको यो संगठनमा दुर्गा थारु, सुधा चौधरी,केदार थारु, पर्शुराम चौधरी आदि नेताहरुले नेतृत्व गर्नुभएको छ ।

पार्टीका ८१ जना वडा कमिटीका अध्यक्ष मध्ये ७१ जना संस्थापनमा खुलेका छन् । १९ वटा जनवर्गीय संगठनका जिल्ला अध्यक्ष मध्ये १५ जना संस्थापन पक्षमा छन् । ‘चैतदेखि यता हामीले मसिनो गरी पार्टीका टोल कमिटीदेखि वडा, स्थानीय तह, क्षेत्रीय हुँदै जिल्ला कमिटीसम्मलाई अध्ययन गरेका छौं,’ अध्यक्ष ढकालले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘यस किसिमको तथ्यांक पाएपछि हामी उत्साहित छौँ । कमिटीमा रहेका ९० प्रतिशत कमरेडहरू हामीतिरै हुनुहुन्छ । त्यसभन्दा मुनिका कार्यकर्ताको आकर्षण अहिले पनि केपी ओली नै हो ।’

बाँकेका गाउँगाउँमा अहिले पनि दैनिकजसो एमालेका कार्यक्रमहरू भइरहेका छन् । कोरोनाको महामारीका बीच स्वास्थ्य सावधानी अपनाएर पार्टी कामलाई निरन्तरता दिइएको ढकालले बताउनुभयो । ‘बाँकेको एमालेमा माओवादी साथीहरूको पनि आकर्षण छ,’ ढकालले भन्नुभयो, ‘त्यसको उदाहरणका रूपमा माओवादीबाट प्रवेश गर्नुभएका १० जना जिल्ला कमिटीमा हुनुहुन्छ र जनमुक्ति सेनालाई हामीले अलग्गै संगठन बनाएर पार्टीमा संगठित गरेका छौँ ।’

बाँके जिल्लाको एमालेका जनवर्गीय संगठनमा एउटा नौलो संगठनको नाम देख्न सकिन्छ । त्यो माओवादीका पूर्व जनमुक्ति सेनाको संगठन हो । त्यो संगठनको नाम भूतपूर्व जनमुक्ति सेना हो । जसमा माओवादी युद्धकालमा जनमुक्ती सेनाको काम गरेका करिब ४ सय जना पूर्व लडाकुहरू एमालेको झण्डामा गोलबन्द छन् । अजय बैधार अध्यक्ष रहेको यो संगठनमा दुर्गा थारु, सुधा चौधरी,केदार थारु, पर्शुराम चौधरी आदि नेताहरुले नेतृत्व गर्नुभएको छ ।

बाँकेको एमालेका चार आकर्षक नारा

एमाले र माओवादीको एकता टुटेपछि धेरै कार्यकर्तामा बिचलन आउला जस्तो अवस्था आयो । यस्तो बेलामा आम कार्यकर्ता र मतदाताको मन जित्नु र उनीहरुलाई साहस प्रदान गर्नु नेतृत्वको दायित्व हो । यसै क्रममा जनतालाई एमालेतिर आकर्षित गर्न चारवटा नारा अघि सार्ने निर्णय जिल्ला पार्टीले गरेको थियो । चैत १४ गते यी नारालाई अन्तिम रुप दिएर जनतामा एमाले प्रवेश गरेको अध्यक्ष ढकाल बताउनुहुन्छ ।

एमालेले अघि सारेका चार नारामा

१.उत्पादनसँग एमाले : यस अन्तरगत पार्टीका हरेक सदस्यलाई कुनै न कुनै उत्पादनमुलक कार्यका सहभागी भएर आत्मनिर्भर हुन पार्टीले निर्देशित गरेको छ ।

२. एक कमिटी,एक महिना,एकजना पार्टी प्रवेश : यस अन्तरगत हरेक कमिटीले महिनामा एकजना व्यक्ति अर्को पार्टीबाट प्रवेश गराउन अनिवार्य गरिएको छ । एमालेको सरकार हुँदा गरेका काम,पार्टीको नीति विधी र नेता कार्यकर्ताले जनताको मन जितेर पनि अर्को पार्टीमा आवद्ध भएका व्यक्तिहरुलाई एमाले प्रवेश गराउने लहर चलाइएको छ । हाल जिल्लामा २ सय वटा कमिटी छन् । तिनले ५ सय जना नयाँ व्यक्ति एमालेमा प्रवेश गराइसकेको ढकालले जानकारी दिनुभयो ।

३. राजनीतिमा महिला सहभागिता र नेतृत्वको प्रश्न : महिलाहरुलाई राजनीतिमा सक्रिय बनाउन र नेतृत्व विकास गर्नका लागि पार्टी र जनवर्गीय संगठनका हरेक बैठक ,गोष्ठी,आमसभाहरुमा कम्तीमा एकजना महिलालाई वक्ता बनाउनै पर्ने नियम बनाएको छ । यसले पार्टीमा महिलाहरुको आकर्षण बढेको र भएका महिलाहरुले पनि आत्मविश्वासका साथ आफ्ना कुरा राख्ने वातावरण बनेको लुम्बिनी प्रदेश कमिटी सदस्य एवं खजुरा गाउँपालिका उपाधक्ष्य एकमाया विक बताउनुहुन्छ ।

४. नेपालगञ्जमा एमाले सधैं हार्नुपर्ने कारणको खोज : नेपालगञ्ज उपमहानगपालिका भएको क्षेत्रमा एमालेले २०४८ सालदेखिका कुनै पनि निर्वाचनमा जित्न सकेको छैन । त्यसको गहिरो कारण खोजी गरेर आगामी चुनावमा जित्ने रणनीति बनाउन एमालेले त्यो क्षेत्रका आम नेता,कार्यकर्ता र बौद्धिक व्यक्तिबाट सुझाव संकलन सुरु गरेको छ । त्यसका लागि ‘एमालेले नेपालगञ्जमा किन सधैँ हार्छ ?’ ‘जित्नका लागि के गर्नुपर्दछ?’ भन्ने दुई प्रश्नावली पठाएको छ । कार्यकर्ता र वाैद्धिक व्यक्तिहरूले पठाएको उत्तरका आधारमा थप रणनीति बनाएर आगामी निर्वाचनमा नेपालगञ्ज क्षेत्र एमालेले आफ्नो पकडमा ल्याउने तयारी अहिलेदेखि नै थालिएको ढकालले बताउनुभयो ।

प्रदेश कमिटी सदस्य विकका अनुसार ओली सरकारले गरेका काम र त्यस अवधीमा पार्टी र प्रधनमन्त्रीप्रति छरिएका भ्रम चिर्न आम जनतामा एमाले सक्रिय भएर लागिसकेको छ । ‘हामी अहिले विकेन्द्रीत भएर जनताका कुरा सुन्ने चरणमा छौँ,’ विकले भन्नुभयो, ‘जनताका आवश्यकता,उहाँहरूका हामीप्रतिका धारणाहरू सुनेर पार्टीका स्थानीय नीति कार्यक्रम हामी बनाउँछौँ । यसपाली स्थानीय तहको चुनावी वर्ष पनि भएकोले हाम्रा हरेक अभियान चुनाव लक्षित छन् ।’