अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूमि आयोग संविधान विपरित भनेर कुतर्क नगरौं : डा. शिवमाया तुम्बाहाङफे

भूमि आयोग संविधान विपरित भनेर कुतर्क नगरौं : डा. शिवमाया तुम्बाहाङफे


काठमाडौं– नेकपा एमालेकी नेतृ एवम् निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले बिघटित भूमिसम्बन्धि समस्या समाधान आयोग संविधान, ऐन र नियम विपरित रहेको भनेर कुतर्क नगर्न सरकारलाई चेतावनी दिनु भएको छ ।

नेतृ तुम्बाहाङफेले केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गरेर सरकारले देशभरका सुकुम्वासीहरुको मौलिक हकमाथि गम्भिर कुठाराघात गरेको उल्लेख गर्दैै सो आयोगलाई संविधान, ऐन र नियम विपरित भएको भनि कुतर्क नगर्न सचेत गराउनु भएको हो ।

शनिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संविधान अनुसार ऐन बनेको र सो ऐनलाई कार्यान्वयनमा गर्न नियमावली बनाएको तथ्यलाई ढाकछोप गर्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँले सम्हाल्दै आउनु भएका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका कर्मचारीहरूले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भयो । नेतृ तुम्बाहाङ्फेले भन्नु भयो, ‘संविधान अनुसार ऐन संशोधन गरिएको छ । संशोधित ऐनलाई कार्यान्वयन गर्नका लागि नियमावली बनाइएको छ । तर ती कुराहरुलाई भ्रम फैल्याउने गरी मन्त्रालयका कर्मचारीले अभिव्यक्ति दिनु अपराधिक मनोवृत्ति र अभिव्यक्ति हो । यो अभिव्यक्ति खेदजनक छ । ती सुकुम्बासी, अव्यवस्थित बसोबास गरिरहेका जनताका निम्ति यो घातक अभिव्यक्ति हो । यसले राम्रो सन्देश दिएको छैैन ।’

नेतृ तुम्बाहाङफेले प्रधानमन्त्री देउवाले नेकपा एमालेको कार्यकर्ता भर्ती केन्द्र भएकाले सो आयोग विघटन गर्नु परेको भनेर कुतर्क गरेको उल्लेख गर्दै राजनीतिक आस्था विनाको पदाधिकारी राखेर आयोग गठन गरेर देखाउन पनि चुनौैति दिनु भयो ।

उहाँले दलीय व्यवस्थामा जनताहरु कुनै न कुनै राजनीतिक पार्टीप्रति आस्थावान हुने यथार्थलाई स्विकार नगरेर प्रधानमन्त्री देउवाले त्यस्तो अभिव्यक्ति दिएको दावी समेत गर्नु भयो । नेतृ तुम्बाहाङफेले भन्नु भयो, ‘प्रधानमन्त्रीले एमालेको भर्ती केन्द्र भएकाले सो आयोग विघटन गर्नु परेको भन्ने कुतर्क गर्नु भएको छ । के जनता कुनै पनि राजनीतिक दलप्रति आस्था नराख्ने हुन्छन्? अब आयोग बनाउँदा कुनै पनि राजनीतिक दलप्रति आस्था नभएकाहरुलाई बनाएर देखाउन पनि यो सरकारलाई चुनौति दिन चाहन्छु ।’