अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारका कामप्रति प्रचण्डकै असन्तुष्टि

सरकारका कामप्रति प्रचण्डकै असन्तुष्टि


काठमाडौं– सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरूसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि त्यो घोषणा अनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरू तीव्रताका साथ अगाडि बढ्यो कि बढेनभन्दा अझै पनि ती गतिविधिहरू त्यहीँ अनुसारको तीव्रताका साथ अगाडि बढेको छैन । त्यसैकारण तपाईहरु प्रधानमन्त्रीसहित सबै नेताहरूलाई ध्यानाकर्षण गराउन आउनु परेको भन्ने मलाई लाग्दछ ।’

अध्यक्ष प्रचण्डले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नु भयो । उहाँले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एक पटक मेलम्ची र त्यस वरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने दावी गर्दै त्यसलाई न्यूनिकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताउनुभयो । त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने उहाँको भनाई थियो ।