अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने


चितवन-नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।

पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ-मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए।

तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि अपनाएर रोकथामको काम अघि बढाउन लागेको हो । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि रोकथामका उपाय अपनाउन लागिएको कार्यालयले जनाएको छ।

पहिरो रोकथामका लागि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ । त्यस्तै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ अर्थात् तेर्सो निकास र बायोइन्जिनियरिङका उपाय अपनाइनेछ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङ गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए ।

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको उनले बताए। कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि यातायात सहज बनाउन काम रोकिएको थियो।

प्रमुख इन्जिनियर शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिनसम्म दैनिक सडक बन्द गरेर काम गर्नुपर्ने देखिएको छ ।

यस अवधिमा काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक बन्द हुँदा यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै यात्राको समय र मार्ग व्यवस्थापन गरी यात्रा गर्न अनुरोध गरेको छ ।