अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा सञ्चारमैत्री कानुन बनाउँछु : मन्त्री नेपाली

कर्णालीमा सञ्चारमैत्री कानुन बनाउँछु : मन्त्री नेपाली


सुर्खेत- कर्णाली प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याउने भएको छ ।

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा, मानवअधिकार सञ्चार प्रतिष्ठान, फ्री मिडिया नेटवक सुर्खेत र इन्टरनेशनल अलर्टको संयुक्त आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले कर्णाली प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याउने जानकारी दिनुभयो ।

प्रदेश सरकारको प्रवक्तासमेत रहनुभएकी मन्त्री नेपालीले विषय विज्ञसहित सरोकारवाला पक्षहरुसँग छलफल गरेर कर्णाली सुहाउँदो सञ्चारमैत्री कानुन ल्याउने बताउँदै पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । योभन्दा अगाडि बनेको कर्णाली प्रदेशको प्रसारण ऐन संशोधनको तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री नेपालीले आमसञ्चार प्रतिष्ठान विधेयक प्रदेशसभामा दर्ता भएको र लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै सञ्चारसँग सम्बन्धित कानुनहरु ल्याउँदा सरोकारवालाको सहभागितामा छलफल गरेर निर्माण गरिने बताउनुभयो ।

उहाँले जनतालाई सत्य र तथ्यका आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुलाई सुझाउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षाका लागि प्रदेश सरकार तथा स्थानीय तहहरुले ध्यान दिनुपर्ने बताउँदै यसका लागि प्रदेश सरकारले सरोकारवालाको सहभागितामा सञ्चारमैत्री कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षामा आइपर्ने सवालहरुलाई पहिचान गरेर अगाडि बढ्न सकिने विषयमा मानवअधिकार सञ्चार प्रतिष्ठानका निराजन नेपालीले कार्यपत्र प्रस्तुत गर्नुभयो ।