अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले सोधेको स्पष्टिकरणको जवाफ मैदानबाट दिनेछु : गुरु भट्टराई

सरकारले सोधेको स्पष्टिकरणको जवाफ मैदानबाट दिनेछु : गुरु भट्टराई


काठमाडौं– नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले गठबन्धन सरकारले राजनीतिक पूर्वाग्रह राखेर आफ्नो कामसँग कुनै सम्बन्ध नभएको कुरामा स्पष्टिकरण सोधेको भन्दै जवाफ नदिने बताउनुभएको छ ।

सरकारले आइतबार आफूलाई केहि राजनीतिक विषयबारे आफूले गरेको व्यक्तिगत टिप्पणीलाई आधार बनाएर आफूलाई बर्खास्त गर्ने योजना अनुरूप राजनीतिक स्पष्टिकरण सोधिएको पनि प्रष्ट पार्नुभयो ।

आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सामाजिक सञ्जालमा सरकारको विरोध, नेताको आलोचना र अदालतको फैसलामा टिप्पणीका विषयमा स्पष्टिकरण आएको भन्दै आफ्नो पदीय दायित्व र जिम्मेवारीसँग सम्बन्धित नै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई सामाजिक सञ्जालमा सरकारको विरोध गरेको, नेताहरूको आलोचना गरेको र अदालतको फैसलामा टिप्पणी गरेकोले तपाईलाई किन नहटाउने ? भन्दै सोधिएको छ यीमध्ये कुनै पनि कुरा मेरो पदीय दायित्व र जिम्मेवारीसँग सम्बन्धित छैनन् ।’

महाप्रबन्धक भट्टराईले नेपालमा पूर्वाधार, जनशक्ति र अध्ययन अध्य्यापनसमेत नहुने रेल्वे सञ्जाल जस्तो कुरालाई शून्यबाट सुरु गरि यही महिना भित्र रेल चल्ने अवस्थामा ल्याएको र अन्तिम घडीमा रेल संचालनलाई नै अन्योलतामा पार्ने गरि निकाल्न खोजिएको आरोप लगाउनुभयो । उहाँले आफूले पदको निरन्तरता भन्दा पनि नेपालमा रेल चल्ने कुरालाई बढी प्राथमिकता दिएकोले हटाइने कुराले बिचलित नहुने र अप्रासंगिक कुरामा सोधिएको स्पष्टीकरणको जवाफ समेत नदिने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, ‘राजनीतिक प्रश्नको जवाफ महाप्रबन्धकको कुर्सीबाट होइन मैदानमा दिनेछु ।’

यसअघि देउवा सरकारले उहाँलाई कर्मचारीको आचरणविरुद्ध काम गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। साउन १९ गते बसेको मन्त्रीपरिषद बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार महाप्रबन्धक भट्टराइसंग तीन दिनभित्र पेश गर्ने गरी लिखित स्पष्टिकरण मागेको छ। इमान्दारीपूर्वक काम नगरेको, अदालतको फैसलाको सम्बन्धमा अमर्यादित टिकाटिप्पणी गरेको, राजनीतिक दल र त्यसका पदाधिकारीलाई अशोभनीय र गाली गलौजको शैलीमा टिप्पणी गरी सार्वजनिक पदाधिकारीले पालना गर्नुपर्ने आचरणविरुद्ध कार्य गरेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचरण तथा इमान्दारीपूर्वक जिम्मेवारी अनुरुप काम नगरेको आधारमा महाप्रबन्धक पदबामट किन नहटाउने भनी स्पष्टीकरण सोधिएको छ।