अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिन : कुलमान घिसिङ

चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिन : कुलमान घिसिङ

रासस
46
Shares

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्णरूपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन्नुभयो, ‘यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौँ । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।’

आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उहाँले आफ्नो कार्ययोजना रहेको सुनाउनुभयो । अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गरौं, काँधमा काँध मिलाएर अगाडि बढौं, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ ।’

आम जनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उहाँले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उहाँले अवकाश पाउनुभएको थियो ।

आम जनताले प्राधिकरणका पुनः घिसिङ आउनुपर्ने चर्को माग गरेपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उहाँलाई जिम्मेवारी दिएन । मन्त्रिपरिषद्मा पुगेको पुनः नियुक्तिको प्रस्तावसमेत अस्वीकृत भएको तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा नै बताउनुभएको थियो ।

गठबन्धनको संयोग

संयोग यतिबेला पनि त्यस्तै जुरेको छ । तत्कालीन गठबन्धन सरकार जस्तै, यतिबेला पनि कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुको संयुक्त सरकारले घिसिङलाई पुनः नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

उहाँलाई आज मात्रै ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीले नियुक्तिपत्र दिनुभएको हो । प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणी बराबरको सुविधा उपलब्ध गराउने गरी पूणर्कालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।

नवनियुक्त कार्यकारी निर्देशक घिसिङले शाक्य र आफ्नो नियुक्ति फरक(फरक ठाउँमा एकैपटक भएको जानकारी दिँदै उहाँको ९शाक्य०को विज्ञतालाई सरकारले ऊर्जा क्षेत्रको विकासमा प्रयोग गर्न लागेको अर्थमा बुझेको बताउनुभयो ।

उहाँले जनताको अपेक्षालाई आफूले निराश नबनाउने भन्दै सबै मिलेर अगाडि बढे प्राधिकरणलाई सरकारका विभिन्न संस्थामध्येको नमूना बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिक नेतृत्व, कर्मचारी प्रशासनसँग समन्वय गरेर काम गर्न आफूलाई झनै सहज रहेको भन्दै देशको ऊर्जा क्षेत्रमा देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।