अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी सरकारलाई एमालेले निगरानी गर्ने

गण्डकी सरकारलाई एमालेले निगरानी गर्ने


पोखरा -प्रमुख प्रतिपक्षी दल एमालेले गण्डकी प्रदेशमा सरकारले गर्ने कामकारबाहीको निगरानी गर्न नौ सदस्यीय समिति गठन गरेको छ । एमाले संसदीय दल अन्तर्गतको संसदीय बोर्डको शुक्रबार बसेको बैठकले ११ मन्त्रालय हेर्ने गरी नौ वटा संसदीय समूह बनाएको हो
प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार ती समितिले विषयगत मन्त्रालयका कार्यप्रगति हेर्नेछन । ‘प्रदेशमा ११ मन्त्रालय छन्, नौ समितिले सबै मन्त्रालयको काम हेर्ने गरी संसदीय समूह बनाएका छौं,’ अधिकारीले भन्नुभयो । अधिकारीका अनुसार नवगठित समितिले मन्त्रालयका बजेट, योजना, कार्यान्वयनका पक्ष हेर्ने छ । अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक पूर्वमन्त्री रामशरण बस्नेत र सदस्यमा रोशन गाहा मगर र प्रभा कोइराला हुनुहुन्छ ।

यस्तै सामाजिक विकास समूहमा नरदेवी पुन मगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य रहनुभएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण समूहको संयोजकत्व विकास लम्साल र सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार हुनुहुन्छ । यस्तै अर्को समूह कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूह छ । यसको संयोजक चन्द्रमोहन गौचन र सदस्यमा पुष्पा केसी भण्डारी रहनुभएको छ । इन्द्रलाल सापकोटाको नेतृत्वमा अर्थ समूह गठन भएको छ । यस समूहको सदस्यमा कृष्णबहादुर थापा हुनुहुन्छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकत्व मोहनप्रसाद रेग्मी र सदस्यमा मायानाथ अधिकारी र मिना गुरुङ हुनुहुन्छ ।

यस्तै भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ र सदस्यहरुमा मनबहादुर गुरुङ, महेन्द्र थकाली हुनुहुन्छ । ऊर्जा, खानेपानी समूहको संयोजक मिनप्रसाद गुरुङ र सदस्यमा धनञ्जय दवाडी चयन गरिएको छ । स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकत्व राजीव पहारीलाई दिइएको छ । समूहको सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर हुनुहुन्छ । रानालाई यसअघिको संसदीय दलको बैठकले दलको सचेतक चयन गरिएको थियो । उक्त बैठकमा किरण गुरुङलाई दलको उपनेता बनाउने निर्णय पनि भएको थियो । एमाले नेतृत्वको सरकार जेठ २७ गते ढलेको थियो । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि कांग्रेस नेतृत्वको चार दलीय गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेपछि एमालेले निगरानीका लागि छाँया सरकार बनाएको हो ।

च्भबितभम