अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न- भारत भ्रमणमा सीमा विवाद किन उठाउनुभएन ?

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न- भारत भ्रमणमा सीमा विवाद किन उठाउनुभएन ?


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणका क्रममा नेपालको सीमा विवादको विषय नउठाएको भन्दै प्रश्न गरेका छन्।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर राष्ट्रियताको विषयमा अभिव्यक्ति दिँदै आएका शाहले प्रधानमन्त्री बनेपछि भारत भ्रमणका क्रममा सीमा विवादबारे किन कुरा नउठाएको भन्दै ओलीले प्रश्न गरेका हुन्।

अध्यक्ष ओलीले मेयर हुँदा शाहले कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्सा र प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा अपनाएको व्यवहारबीचको अन्तरबारे जवाफ मागेका छन्।

भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा राखिएपछि तत्कालीन मेयर शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए। त्यसबेला उनले उक्त कदमलाई नेपालको ऐतिहासिक भूभाग र राष्ट्रिय स्वाधीनतासँग जोडेर प्रस्तुत गरेका थिए।

तर, प्रधानमन्त्रीका रूपमा भएको भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवादले राजनीतिक तहमा अपेक्षित प्राथमिकता पाउन नसकेको विषय अहिले चर्चामा आएको छ।

भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच बाँकी सीमा समस्यालाई परराष्ट्र सचिवस्तरबाट समाधानको प्रयास अघि बढाउने सहमति भएको थियो । भ्रमणमा आर्थिक सहयोग, पूर्वाधार विकास, हवाई तथा रेल सम्पर्कलगायतका विषयमा सहमति भए पनि सीमा विवादमा कुनै ठोस राजनीतिक सहमति हुन सकेन।

यही विषयलाई जोड्दै अध्यक्ष ओलीले मेयर हुँदा राष्ट्रियताको विषयमा अभिव्यक्ति दिएका शाहले प्रधानमन्त्री भएपछि भारतसँगको वार्तामा सीमा विवादलाई किन प्राथमिकतामा नराखेको भन्दै प्रश्न उठाएका हुन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि सीमा विवादमा सरकारको अडान, कूटनीतिक प्राथमिकता र समाधानको पहललाई लिएर राजनीतिक वृत्तमा बहस सुरु भएको छ।