काठमाडौं– सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार संयोजन गर्नका लागि समिति गठन गरेको छ ।
सरकारले द्वन्दग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताउनुभयो ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्त्व हुनेगरी समिति बनाइएको र समितिले आइतबारदेखि नै काम गर्ने उनले बताउनुभयो ।
‘समितिको उद्देश्य के छ भने कदाचित हामीले कसैलाई हामी आफैले इभाक्वेट गरेर लिएर आउनुपर्यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरूलाई राखेर यो संयन्त्र बनेको हो,’ उहाँले भन्नुभयो ।
अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौडेलले बताउनुभयो । नेपालीहरू अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया