अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आन्तरिक पर्यटकको रोजाइमा डोटीको बगलेक क्षेत्र

आन्तरिक पर्यटकको रोजाइमा डोटीको बगलेक क्षेत्र


डोटी– सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ स्थित बगलेक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरू पुग्न थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् ।

अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस क्षेत्रमा पुगेको बताएका छन् । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँ व्यापार व्यवसाय पनि फस्टाउँदै गएको स्थानीयवासी सुनिल विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले हाम्रा गाउँमा फलेका साग तरकारी र फलफूल किन्ने मान्छे नहुँदा बारीमै कुहिने गरेका थिए, अहिले बगलेकमा आन्तरिक पर्यटक आउन थालेपछि बिक्री हुन थालेको छ, यसबाट राम्रै आम्दानी हुने गरेको छ ।’

पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बगलेकसम्म सडक कालोपत्र भएका कारण यात्रामा सहज हुने भएकाले पनि पर्यटक भित्रिन थालेको बताइएको छ । आन्तरिक पर्यटक धमाधम भित्रिन थालेपछि अहिले बगलेकमा होटेल तथा पसल पनि खुल्न थालेका छन् । यहाँका व्यापारीलाई दैनिक स्थानीय खाद्य परिकार तथा सामग्री बिक्री गर्न भ्याइनभ्याइ भएको बगलेकमा होटेल सञ्चालन गरेकी कलाकुमारी साउँदले बताउनुभयो ।

पर्यटकलाई घुम्नका लागि सो क्षेत्रमा घोडाको पनि व्यवस्था छ । घोडा सफारी गर्ने भएकाले पनि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताइएको छ । यहाँ घुम्न आउने पर्यटकका लागि स्थानीयवासीले तीन वटा घोडाको व्यवस्था गरी घोड्चडी गराउने गरेको घोडा सञ्चालक विक्रम कामीले बताउनुभयो । यस व्यवसायबाट दैनिक रु दुइदेखि तीन हजारसम्म कमाउने गरेको उहाँको भनाइ छ ।

एक पटकमा एउटा पर्यटकले घोडचडी गरेबापत रु १०० लिने गरेको र घोडा चढेर मात्रै फोटो लिएबापत रु ५० लिने गरेको घोडा सञ्चालक बताउँछन् । घोडा चढ्नकै लागि भए पनि आन्तरिक पर्यटक बढी भित्रिन थालेकाले अरु घोडा थप्ने योजना बनाइएको अर्का घोडा सञ्चालक रमेश विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बगलेक घुम्न आउने अधिकांशको पहिलो रोजाइ घोडा भएकाले हामीसँग भएका तीन घोडाले नधानेका कारण थप घोडा ल्याउने योजना बनाएका छौँ, निकट भविष्यमै थप घोडाको व्यवस्था गरिने छ ।’ घोडामा चढ्न रमाउनेमा पुरुषभन्दा महिला पर्यटकको सङ्ख्या बढी भएको स्थानीयवासी बताउँछन् ।

बगलेकमा दिनभरि रमाउने र पिकनिक गर्ने ठाउँ भएका कारण पनि त्यहाँ आन्तरिक पर्यटक जान बढी रुचाउने गरेको यहाँ घुम्न आउनुभएकी बोगटान फुड्सिल गाउँपालिकाकी मानवी बमले बताउनुभयो । यस क्षेत्रलाई ‘मिनी खप्तड’ पनि भन्ने गरिन्छ । खप्तडकै जस्ता फाँट भएका कारण बगलेक क्षेत्रलाई ‘मिनी खप्तड’ भनिने गरेको र तीनै फाँटको अवलोकन गर्नका लागि भए पनि आन्तरिक पर्यटक आउने गरेको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनका भीमबहादुर विष्टले बताउनुभयो । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै यहाँ केही भौतिक संरचनादेखि अन्य सेवा सुबिधा थप गर्नुपर्ने आवश्यकता रहेको उहाँको बताउनुभयो ।

बगलेकको उच्च डाँडाबाट छिमेकी मुलुक भारतको टनकपुर तथा सुर्खेत जिल्लाका विभिन्न ठाउँ पनि अवलोकन गर्न सकिने भएकाले निकै रमणीय तथा आनन्ददायी हुने गरेको स्थानीयवासी तथा सञ्चारकर्मी नारद नेपालीले बताउनुभयो ।

जिल्ला सदरमुकाम सिलगढीबाट २० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि त्यहाँ दैनिकजसो आन्तरिक पर्यटक जाने गरेको शैलेश्वरी यातायात प्रालीका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बगलेकसम्म सडक कालोपत्र भएको छ, सदरमुकामबाट नजिकै भएकाले पनि आन्तरिक पर्यटक रमाइलो गर्न जाने गरेका हुन् ।’