काठमाडौं । नेकपा एमालेले भ्रातृसंगठनहरूमा १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न कार्यदल गठन गरिएको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो ।
जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन कार्यदल गठन गरिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहनुभएको छ ।
यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने ज्ञवालीले बताउनुभयो ।
हाल अनेरास्ववियू, युवा संघ, महिला संघ, किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा जेठ २ अघिको नेतृत्व फेरिएकाले अब नयाँ ढंगले टुंगो लगाउन कार्यदल बनाइएको हो ।





प्रतिक्रिया