अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने : टोपबहादुर रायमाझी

प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने : टोपबहादुर रायमाझी


बुटवल– नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाउनुभएको छ ।

बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले आफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि प्रचण्ड र माधवले कम्युनिस्ट पार्टी फुटाएर कांग्रेसको पुच्छर बनेको आरोप लगाउनुभएको हो ।

‘व्यक्ति स्वार्थमा पार्टी एकतालाई पद प्रतिष्ठाका लागि उपयोग गरे । फुटाउने कुचेष्टा गरे । ओलीको नेतृत्वमा एकता जोगाउन पहल गर्‍यौं । तर उहाँहरू नेकपाबाट भाग्नुभयो । आफ्नो आफ्नो कोठातिर लाग्नुभयो । नयाँ उद्देश्य राखेर गएको होइन, गलत गर्नुभयो,’ उहाँले भन्नुभयो ।

पहिला ५ वर्षका लागि केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको पछि आफ्नो स्वार्थपूर्ति नहुने भएपछि पटकपटक अपदस्त गर्न खोजेको भन्दै रायमाझीले केही गर्दा पनि नसकेपछि प्रतिपक्षीको शरणमा पुगेको टिप्पणी गर्नुभयो ।

‘प्रतिपक्षी नेता बोकेर पुच्छर बनेर हिँडे । काम गर्न नदिने, संसद विघटन गर्दा प्रतिगमन भन्ने?’ उहाँले प्रश्न गर्नुभयो, ‘संसद् पुनर्स्थापनापछि ओली नै आउँछ भनेर देशी विदेशी प्रतिक्रियावादी लागेर जनादेशको विरुद्धमा परमादेश आयो । पूरै डिजाइनमा देशपारिमात्र होइन समुद्र पार गरेर रेटेर ह्विप नलाग्ने भनियो ।’

रायमाझीले प्रचण्ड र माधवले गद्दारी गरेको आरोप लगाउनुभयो । ‘उहाँहरूले ठूलो भूल र कमजोरी गर्नुभएको छ,’ उहाँले भन्नुभयो ।