बुटवल– एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीले २०७४ सालको वर्चश्व फर्काउने उद्घोष गर्नुभएको छ । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमाले जिम्मेवार भएर अघि बढे ०७४ सालको वर्चश्व फर्किने बताउनुभएको हो ।
एमालेले समानता, न्याय र लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको दाबी गर्दै भुसालले राष्ट्रको प्रतिनिधित्व गरिरहेको एमालेलाई मात्तिने छुट नभएको बताउनुभयो । ‘एमाले जिम्मेवार बन्नुपर्छ । विगत, वर्तमान र भविश्यलाई हेरेर एमाले अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।
राम्रो राजनीतिक पार्टी भयो भने राष्ट्र बलियो हुने भन्दै भुसालले जातजाति, भाषा, धर्मको प्रतिनिधित्व प्रभावकारी पार्टीले गर्ने बताउनुभयो । ‘लोकतन्त्रमा राष्ट्रको प्रतिनिधित्व पार्टीले गर्छ । यो मुलुकमा एमाले सबैभन्दा बढी समानता र न्यायमा योगदान गरेकाले राष्ट्रको प्रतिनिधित्व एमालेले गरेको छ । गर्छ, गर्नुपर्छ । जिम्मवारीबोध हुनुपर्छ । कमजोरी गर्ने, उत्ताउलो हुने छुट छैन,’ उहाँले भन्नुभयो ।
पार्टी आन्तरिक रुपमा लोकतान्त्रिक हुन सकेन भने राष्ट्रको पनि प्रतिनिधित्व गर्न नसक्ने भन्दै भुसालले थप्नुभयो, ‘व्यवस्थित अभ्यास गर्नुपर्छ । न्याय समानता र लोकतन्त्रको जति अभ्यास गर्न सक्छ त्यति नै राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ ।’
बुद्धकै पालादेखि गणराज्यको अभ्यास भएको भन्दै उहाँले एमाले गणतन्त्र र लोकतन्त्र र आन्तरिक लोकतन्त्र सुदृढ गरेर यसैगरी अघि बढे २०७४ सालको वर्चश्व फर्काउने ठोकुवा गर्नुभयो । भुसालले अब दलाल पुँजीवादीविरुद्ध लड्नुपर्ने बताउनुभयो ।





प्रतिक्रिया