बुटवल– एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले एक सिट पनि नजित्ने दाबी गर्नुभएको छ । बुटवलमा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उहाँले विगतमा एमाले फुटाउनेहरूले एक सिट पनि नजिते जस्तै माधव नेपालको हालत पनि त्यस्तै हुने दाबी गर्नुभएको हो ।
‘२०५४ मा पनि एमाले विभाजन भएको थियो । ५०/५० प्रतिशत अर्थात् आधा लगेर गएका थिए । महाकाली सन्धि र भारत अमेरिका एजेन्डा थिए । तर पनि मालेले देशभर एक सिट जित्न सकेन,’ उहाँले भन्नुभयो, ‘अहिले त कुनै सिद्धान्त र नीति होइन, स्वार्थ र इर्ष्याले गएको झुन्डले कुनै सिट जित्ने अवस्था छैन ।’
पौडेलले एमाले नफुटेको पनि दाबी गर्नुभयो । ‘दल विभाजन कानुनअनुसार एमाले विभाजित हुने नभएपछि २० प्रतिशतको प्रावधान अध्यादेश ल्याउन देउवाको चरणमा निवेदन चढाएर अध्यादेश ल्याएर विभाजनको प्रयास गरियो । विभाजन भएको होइन, स्वार्थी तत्व बाहिरिएको हो,’ उहाँले भन्नुभयो ।
उहाँले माधव नेपाल भविष्यमा कांग्रेसमा जाने भएकाले भ्रममा नपर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । ‘माधव नेपालको झुन्ड बनेर, माधव नेपालमार्फत कांग्रेसमा जाने, कांग्रेसको सेवा गर्नुपर्ने कुनै जरुरी छैन । माधव नेपाल झुन्डले गरेको गतिविधि सत्य होइन,’ उहाँले भन्नुभयो ।
कांग्रेसको पछाडि लागेर वामपन्थी शक्ति नबन्ने पनि उनले बताउनुभयो । ‘यो कुनै सिद्धान्त केन्द्रित लडाइँ थिएन । स्वार्थ केन्द्रित लडाइँ थियो । आफ्नो सरकार गिराएर कांग्रेसको पछि लाग्ने अनि वामपन्थी शक्ति बनाउने? कांग्रेसको पछि लागेर, दक्षिणपन्थीको पछि लागेर वामपन्थी हुन्छ?,’ उहाँले प्रश्न गर्नुभयो ।





प्रतिक्रिया