काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी १० वर्षपछि एमालेमै प्रवेश गर्नु हुने भएको छ ।
दुई दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्नुभएका लेखी आज दिउँसो १० बजे गोदावारीमा भइरहेको विधान महाधिवेशनबाट एमाले प्रवेश गर्ने कार्यक्रम छ । लेखीसहितको ठूलो समूहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ ।
लेखीले २०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा काम गर्नुभएको थियो ।
वामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि नेकपा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो । एमालेमा रहँदा उहाँ काठमाडौं-सप्तरी सम्पर्क मञ्चको अध्यक्ष, एमाले सगरमाथा अञ्चल सम्पर्क कमिटीको सचिव, युवा संघ नेपालको केन्द्रीय सदस्य, युवा संघ नेपालको केन्द्रीय प्रचार विभाग सदस्य, नेकपा एमाले केन्द्रीय समितिको संघीय मामिला विभाग र सम्पर्क वभाग सदस्य, एमाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालय सदस्यको रुपमा काम गर्नुभयो ।
लेखीले २०६८ सालमा एमाले परित्याग गरी नागरिक पार्टी गठन गर्नुभएको थियो । उहाँ २०४६ सालमै थारु कल्याणकारिणी सभाको सदस्य हुनुहुन्थ्यो । थाकसमा उहाँले महामन्त्री, प्रशिक्षण विभाग प्रमुख भएर जिम्मेवारी सम्हालिसक्नुभएको थियो । उहाँले आदिवासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष भएर पनि काम गरिसक्नुभएको छ ।





प्रतिक्रिया