काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट सुरु भएको प्रथम विधान महाधिवेशनमा पाँच वटा समूहले सुझाव प्रस्तुत गर्दैछन् ।
आज पहिलो चरणमा प्रदेश नम्बर १, २, गण्डकीसहित पाँच वटा समूहले सुझाव प्रस्तुत गर्ने कार्यतालिका छ ।
महाधिवेशनमा शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरुमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो ।
शनिबार पहिलो चरणमा प्रतिवेदनमाथि छलफल र दोस्रो चरणमा ती दस्तावेजहरुमाथि उठेका सुझाव समेटेर ५ वटा समूह नेताहरुले प्रस्तुति गर्नुभएको थियो ।
समूहगत सुझावपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज नै ढिला गरी भए पनि महाधिवेशन अन्त्य हुने बताउनुभयो ।





प्रतिक्रिया