काठमाडौं-काठमाडौंमा सार्वजनिक सवारी साधन, बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारागार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले बताउनुभयो ।
दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो । सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले ‘पाकेटमार’हरुलाई पक्राउ गरेको थियो ।
पाकेटमारहरुले सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराबन्दी पारी मोबाइल, नगद र सुनचाँदी पाकेटमारी गरेर पालोपालो गरी ओर्लने गरेको प्रहरीको भनाइ छ । पाकेट मार्दा उनीहरुले सांकेतिक भाषा प्रयोग गर्ने गरेको एसएसपी सिंहले बताउनुभयो ।





प्रतिक्रिया