काठमाडौं- एकपछि अर्को विवादमा मुछिँदै गाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाउनुभएको छ ।
सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फुलकोर्टमा छलफल गर्ने प्रचलन छ।
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेको न्यायिक नेतृत्व फुलकोर्ट बोलाएर आफू यो प्रकरणमा नमुछिएको सन्देश दिन चाहन्छ। सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई भेटेरै र नेपाल बार एसोसिएसनले विज्ञप्तिमार्फत प्रधान्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो।
यो बैठकले सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको संयोजकत्वमा गठित गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी प्रतिवेदनमाथि समेत छलफल गर्ने सर्वोच्चका एक न्यायाधीशले बताउनुभयो ।
उहाँका अनुसार फुलकोर्ट बैठकले यस विषयमा छलफल गरी प्रतिवेदन ग्रहण गर्ने र प्रतिवेदनले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्दा संशोधन गर्नुपर्ने निर्देशिका र कार्यविधिमा संशोधनको गृहकार्य पनि गर्नेछ।
आज बस्ने भनिएको बैठकमा दसैं अवधिमा मुद्धा सुनवाई गर्ने न्यायाधीशहरुको नामसमेत तय गरिने ती न्यायाधीशको भनाइ छ।
सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा दिने चलन छ। यो बीचमा बन्दी प्रत्यक्षी करणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ गर्न सीमित न्यायाधीशलाई जिम्मा दिने चलन छ। कुन दिन कुन न्यायाधीश उपस्थित भएर मुद्दाको सुनुवाइ गर्ने भन्ने रुटिनमा पनि फुलकोर्टमा छलफल हुने उहाँले बताउनुभयो ।





प्रतिक्रिया