काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष डा.बद्री केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केसीले अध्यक्ष पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।
केसी प्यानलतर्फबाट उपाध्यक्षहरुमा हेमराज शर्मा, महेश श्रेष्ठ, डीबी क्षेत्री, धर्मराज अधिकारी र यास्मिन बेगम सैयदले उम्मेदवारी घोषणा गर्नुभएको छ।
त्यस्तै महासचिवमा गौरीराज जोशी, सचिवमा अजिब गुरुङ ओम, महिला सचिवमा राधिका गुरुङ टीका, सचिवमा रामशरण सिंखडा र चिरञ्जिवी घिमिरेले उम्मेदवारी दिनुभएको हो।
त्यसैगरी कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल, सहकोषाध्यक्षमा यमुना भट्टराई, युवा संयोजकमा मिलन छन्त्याल र महिला संयोजकमा संगीता मरहठ्ठाले उम्मेदवारी दिनुभएको छ ।
यसअघि नै संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । एनआरएनएमा त्रिपक्षीय भिडन्त हुनेगरी उम्मेदवारी घोषणा भएपनि मुख्य भिडन्त केसी र आचार्यबीच हुने देखिएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा केसीले आफ्नो टिममा सबैलाई समेट्न प्रयास भएको बताउनुभयो । उहाँले राजनीतिकभन्दा माथि रहेको समेत स्पष्ट पार्नुभयो ।
केसीले उम्मेदवारी घोषणाका क्रममा आफ्नो चुनावी प्रतिबद्धतापत्रमा ‘व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी बनाउने, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड अघि बढाउने, संस्थाको पुनर्संरचना एवं सुदृढीकरण गर्ने, नेपाल एवं नेपाली पर्यटन प्रवर्द्धन गर्ने’ लगायत सार्वजनिक गर्नुभएको छ ।





प्रतिक्रिया